Kathmandu Press

काभ्रेमा उच्च रक्तचापका बिरामीको सङ्ख्या बढी

काभ्रे, भदौ १६ : काभ्रेपलाञ्चोकमा नसर्ने रोगमध्ये उच्च रक्तचापका बिरामीको सङ्ख्या बढी रहेको एक तथ्याङ्कले देखाएको छ । जिल्लामा पछिल्लो एक वर्षको अवधिमा नसर्ने...
काभ्रेमा उच्च रक्तचापका बिरामीको सङ्ख्या बढी

काभ्रे, भदौ १६ : काभ्रेपलाञ्चोकमा नसर्ने रोगमध्ये उच्च रक्तचापका बिरामीको सङ्ख्या बढी रहेको एक तथ्याङ्कले देखाएको छ । जिल्लामा पछिल्लो एक वर्षको अवधिमा नसर्ने रोगमध्ये पहिलो सूचीमा रहेका उच्च रक्तचापका १४ हजार चार सय २० बिरामीको उपचार भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

अस्वस्थकर खानपान, सहरीकरण, गरिबी, शारीरिक निष्क्रियता, सूर्तिजन्य तथा मरिदाजन्य पदार्थको सेवनका कारण नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेमध्ये उच्च रक्तचापका बिरामीको सङ्ख्या बढी रहेको कार्यालयका प्रमुख डा पुरुषोत्तमराज सेढाईँले बताए। उनका अनुसार जिल्लास्थित स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट तथ्याङ्कानुसार जिल्लामा नसर्ने रोगमध्ये उच्च रक्तचापका बिरामीको सङ्ख्या अधिक रहेको पाइएको हो। 

Hardik ivf

यस्तै दोस्रो सूचीमा दीर्घ श्वासप्रश्वासका बिरामी रहेका छन् । पछिल्लो एक वर्षमा दीर्घ श्वासप्रश्वासका छ हजार सात सय ९१ बिरामीको उपचार भएको छ । यसैगरी नसर्ने रोग अन्तर्गतको अन्य मुटुरोगसँग सम्बन्धितका पाँच हजार ८०, मधुमेहका दुई हजार छ सय ५९, एन्जाइटी ९चिन्ता÷डर०का एक हजार दुई सय २२, डिप्रेशन (दिक्दारी)का सात सय ९६, दीर्घ मादक पदार्थ तथा ड्रग्स सेवनका पाँच सय ७३ बिरामीको उपचार भएको जनाइएको छ।

यसैगरी जिल्लामा मुटुको बाथ रोगका चार सय १०, मानसिक रोगसँग सम्बन्धित न्यूरोसिसका दुई सय ७७, मानसिक असन्तुलनका दुई ६६, कडा खालको मानसिक रोगका दुई सय १३ जनाको उपचार गरिएको हो । यस्तै एक वर्षको अवधिमा जिल्लामा मुटुसम्बन्धीका विभिन्न रोगका २६ हजार दुई सय ५७ र मानसिक रोगसँग सम्बन्धित विभिन्न रोगका तीन हजार नौ सय ८३ बिरामीको उपचार भएको जनाइएको छ ।

सहरीकरणका कारण मानिसको खानपान, रहनसहनमा परिवर्तन आएसँगै शारीरिक व्यायाम नगर्दा  पछिल्लो समय नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेको अनुसन्धानले देखाएको सेढाईँले बताए। ‘नसर्ने रोगका बिरामीअन्तर्गत पनि मुटुरोगसँगै पछिल्लो समय जिल्लामा मानसिक रोगीको सङ्ख्या पनि बढ्दो क्रममा रहेको पाइयो,’ उनले भने। 

सेढाईँका अनुसार जिल्लाका विभिन्न अस्पताल तथा निजी स्वास्थ्य संस्थामा उपचार गरेका सबै बिरामीको तथ्याङ्क सूचना प्रणालीमा प्रविष्ट नभएको हुनसक्ने भएकाले जिल्ला बाहिर तथा जिल्लामा रहेका विभिन्न अस्पतालमा उपचार गराउने बिरामीको सङ्ख्या क्रमशः उक्त प्रणालीमा ल्याइने बताए। 

यसैबीच कार्यालयले जिल्लाका सरकारी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीका लागि नसर्ने रोगको चरणबद्धरूपमा आधारभूत तालिम सञ्चालन गरेको छ। यससम्बन्धी हालसम्म करिब एक सय स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिसकेको तथा बाँकीलाई पनि दिइने कार्यालयले जनाएको छ। तालिमका लागि विश्व स्वास्थ्य सङ्गठन, इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखालगायतले सहयोग गरिरहेका छन्। 

कार्यालयले जिल्लास्थित स्वास्थ्य संस्थामा स्तरअनुसारका नसर्ने रोगको औषधिको उपलब्धता, रगत जाँच, पिसाब परीक्षण, मधुमेह, प्रोटिन जाँच गराउने उपकरण उपलब्ध गराउँदै आएको छ। 

प्रकाशित मिति: १७:०१ बजे, बिहीबार, भदौ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्