Kathmandu Press

मधेसका सबै जिल्लामा गिरिको स्मृतिमा श्रद्धाञ्जलि कार्यक्रम

मधेसका सबै जिल्लामा गिरिको स्मृतिमा श्रद्धाञ्जलि कार्यक्रम

जनकपुर, भदौ १६ : नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको १३ औँ दिनको तिथिमा आज मधेस प्रदेशका सबै जिल्लामा श्रद्धाञ्जलि  कार्यक्रमको आयोजना गरिएको छ। 

स्व गिरिको स्मृतिमा आज दिउँसो उनको गृहनगर लहान गरपालिका–१४ वस्तीपुरमा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गर्न लागिएको नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवले जानकारी दिए। उनका अनुसार सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित स्व गिरिले शान्त रुपमा बस्न र थकाई मेटाउन गाउँ नजिकै खुट्टी खोला किनारमा बताएको आश्रममा आज दिउँसो १ बजे श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा पार्टीका सबै तहका नेता, कार्यकर्ता, स्थानीय बुद्धिजीवी, समाजसेवीलगायतको सहभागिता रहने सभापति यादवले बताए। 

स्व गिरिको इच्छाअनुसार वस्तीपुरमा दाहसंस्कार गर्न नसकिए पनि आज १३औँ दिनको पुण्यतिथिमा उनको अस्तु आश्रममा सेलाइने छ। समाजवादी चिन्तक स्व गिरिको १३औँ दिनको तिथिमा प्रदेशका आठवटै जिल्लामा आज श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिने कांग्रेस मधेस प्रदेशका सभापति कृष्णकुमार यादवले जानकारी दिए। लामो समयदेखि क्यान्सर रोगबाट पीडित गिरिको यही भदौ ४ गते ललितपुरको मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा निधन भएको थियो।  

प्रकाशित मिति: ११:०७ बजे, बिहीबार, भदौ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्