पत्रकार श्रेष्ठ, भट्टराई र कुँवरलाई उम्मेदवारीमा सिफारिस
काठमाडाैं, भदाै १५ : नेकपा एकीकृत समाजवादी केन्द्रीय प्रचार विभागले विभागका उपप्रमुख शम्भु श्रेष्ठ, सदस्य चमिना भट्टराई र राजेन्द्र कुँवरलाई आगामी प्रतिनिधिसभा र...
काठमाडाैं, भदाै १५ : नेकपा एकीकृत समाजवादी केन्द्रीय प्रचार विभागले विभागका उपप्रमुख शम्भु श्रेष्ठ, सदस्य चमिना भट्टराई र राजेन्द्र कुँवरलाई आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारीका लागि सिफारिस गरेको छ।
विभाग प्रमुख तथा पार्टी उपमहासचिव जगन्नाथ खतिवडाको अध्यक्षतामा आज पार्टी कार्यालयमा बसेको तेस्रो पूर्ण बैठकले श्रेष्ठलाई सङ्घीय सांसदमा तथा समानुपातिकमा भट्टराई र कुँवरलाई क्रमशः बारा ३९क० र अछाम १९क० बाट प्रदेशसभामा प्रत्यक्ष प्रणालीतर्फ सिफारिस गरेको हो।
बैठकले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा केन्द्रित हुने गरी प्रचारप्रसारलाई तीव्र बनाउन विभाग र समाजवादी प्रेस सङ्गठन नेपालका विभिन्न पदाधिकारी एवं केन्द्रीय सदस्यलाई केन्द्र र भूगोलमा जिम्मेवारी दिने निर्णय गरेको विभागका सचिव प्रकाश खतिवडाले जानकारी दिए। विभागले पार्टी घोषणापत्रमा सञ्चार विषयमा समेटिने बुँदाका लागि विभागका सदस्य र पत्रकारहरूसँग सुझाव पनि मागेको छ।
विभागले ‘कलम’ न्युज पोर्टल र पत्रिकालाई निरन्तरता दिने, जर्नलका रूपमा पार्टी मुखपत्र ‘समाजवाद’ निर्वाचनअघि नै प्रकाशन गर्ने, व्यापक रूपमा सामाजिक सञ्जाल र सञ्चारमाध्यम परिचालन गर्ने, नियमित रूपमा ‘मिट द प्रेस’ कार्यक्रम आयोजना गर्ने, पार्टी नेता र उम्मेदवारहरूलाई सामाजिक सञ्जालमा आबद्ध गराउनेलगायत संगठन विस्तार, प्रचार सामग्री प्रकाशन तथा उत्पादन आदिबारे पनि निर्णय गरेको छ।
सो अवसरमा पार्टी उपमहासचिव खतिवडाले वर्तमान गठबन्धनबाट नै बढीभन्दा बढी सिट लिने प्रयास भइरहेको र नेकपा माओवादी केन्द्रसँग विभिन्न विषयमा निकटमा रहिरहेको जनाउँदै गठबन्धन असफल भएमा वाममोर्चा बनाउन सकिने सोचाइ पनि रहेको जानकारी दिए।
यसैबीच समाजवादी प्रेस सङ्गठनले यही भदौ महिनाभित्र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमस्तरीय भेला तथा बैठक गर्ने विभागका अर्का उपप्रमुख दामोदर अर्यालले जानकारी दिए।











