आफूमाथिको महाभियोग प्रस्ताव निष्क्रिय बनिसकेको जबराकाे दाबी
जबरासँग सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बयान लिने क्रम जारी छ।
काठमाडौं, भदौ १५ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथिको महाभियोग प्रस्ताव निष्क्रिय बनिसकेको दाबी गरेका छन्।
आज (बुधबार) बयानका लागि महाभियोग सिफारिस समितिमा बयान दिने क्रममा उनले आफू संसदको सम्मान गर्न मात्र आएको तर महाअभियोग प्रस्ताव स्वतः निष्क्रिय भएको बताएका हुन्। उनले आफूलाई न्याय दिन आग्रह पनि गरे।
उनले संसद नै आफ्नो नियमावलीको पालना गर्नबाट चुकेको बताए। उनले आफूपछाडि रहेकालाई प्रधानन्यायाधीश बनाउन महाभियोग प्रस्ताव दर्ता गरिएको उनको भनाइ थियो। प्रधानन्यायाधीशलाई कमजोर बनाएर न्यायपालिकालाई कमजोर बनाउन खोजिएको आरोप पनि उनले लगाएका छन्।
जबरासँग सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बयान लिने क्रम जारी छ।
बैठक सुरु हुनुअघि फोटो र भिडियो लिन दिए पनि पछि सञ्चारकर्मीलाई बाहिर निकालिएको थियो।
महाभियोगबारे छानबिन गर्न गठित ११ सदस्यीय समितिले यसअघि नै प्रमाणहरू संकलन गरिसकेकाे छ।
जबरामाथि महाभियोग प्रस्तावमा उल्लेख गरिएकाे आरोप र सरोकारवाला निकायबाट प्राप्त प्रमाणका आधारमा सोधपुछ गर्ने समितिका सदस्यहरुले जानकारी दिएका छन्। समितिले जबरालाई ४३ वटा प्रश्न सोध्ने जनाइएको छ।
जबरामाथि संविधान र कानुनको गम्भीर उल्लंघन गरेर पदको दुरुपयोग गरेको, खराब आचरण र कार्यक्षमता अभाव, न्याय सम्पादनमा अवरोधलगायत आरोप लगाइएको छ।
सत्तारूढ दलले २१ आरोपसहित गत फागुन १ गते महाअभियोग प्रस्ताव संसदमा दर्ता गरेपछि जबरा निलम्बनमा परेका थिए।











