Kathmandu Press

निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिन सुरु

जबरालाई बयान लिनुअघि समितिको बैठक पनि बसेको थियो।
निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिन सुरु

काठमाडौं, भदौ १५ : महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग बयान लिन सुरु गरेको छ। समितिले उनलाई बयानका लागि आज (भदो १५ बुधबार) बोलाएको थियो।

आफूमाथि लागेको आरोपबारे बयान दिन जबरा ११ बजे नै सिंहदरबार पुगे पनि बन्द कोठाभित्र बयान लिने कि खुला भन्नेमा महाअभियोग सिफारिस अलमिलँदा करिब डेड घण्टा ढिलाइ भएको थियो। जबरालाई बयान लिनुअघि समितिको बैठक पनि बसेको थियो।

जबरालाई अहिले बन्द कोठाभित्र बयान लिन सुरु गरिएको छ। बैठक सुरु हुनुअघि फोटो र भिडियो लिन दिए पनि पछि सञ्चारकर्मीलाई बाहिर निकालिएको थियो।

महाभियोगबारे छानबिन गर्न गठित ११ सदस्यीय समितिले यसअघि नै प्रमाणहरू संकलन गरिसकेकाे छ। 

जबरामाथि महाभियोग प्रस्तावमा उल्लेखित आरोप र सरोकारवाला निकायबाट प्राप्त तिनै प्रमाणका आधारमा सोधपुछ गर्ने समितिका सदस्यहरुले जानकारी दिएका छन्।

जबरामाथि संविधान र कानुनको गम्भीर उल्लंघन गरेर पदको दुरुपयोग गरेको, खराब आचरण र कार्यक्षमता अभाव, न्याय सम्पादनमा अवरोधलगायत आरोप लगाइएको छ।

सत्तारूढ दलले २१ आरोपसहित  गत फागुन १ गते महाअभियोग प्रस्ताव संसदमा दर्ता गरेपछि जबरा निलम्बनमा परेका थिए।

प्रकाशित मिति: १२:५९ बजे, बुधबार, भदौ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्