बयान दिन सिंहदरबार पुगे निलम्बित प्रधानन्यायाधीश जबरा
कानून, न्याय तथा मानव अधिकार समितिको बैठककक्षमा महाअभियोग सिफारिश समितिको बैठक बस्नेछ। जबरासँग त्यहीँ बयान लिइने छ।
काठमाडाैं, भदाै १५ : महाभियोग लागेका निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा बयान दिन सिंहदरबार पुगेका छन् । महाभियोग सिफारिस समितिले बयानका लागि बोलाएपछि उनी सिंहदरबार पुगेका हुन्।
समितिले उनलाई बयानका लागि ११ बजे बोलाएको थियो । समयमै सिंहदरबार पुगेका चोलेन्द्र बैठक सुरु नभएपछि संसद सचिवालयका महासचिवको कार्यकक्षमा बसिरहेको छन्।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठककक्षमा महाअभियोग सिफारिश समितिको बैठक बस्नेछ। जबरासँग त्यहीँ बयान लिइने छ। नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागेको हो ।
सत्तापक्षका सांसदले गत फागुन १ गते जबराविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए। त्यसमा छानबिन गरी महाअभियोग सिफारिश गर्न प्रतिनिधिसभाले समिति गठन गरेको थियो।
यसअघि समितिले जबराविरुद्धका प्रमाण मागेको थियो। नेपाल बार एसोसिएसनले पनि जबराविरुद्ध प्रमाण समितिलाई बुझाएको थियो।
प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएसँगै जबरा निलम्बनमा छन्। न्यायाधीश दीपककुमार कार्कीले कायममुकायम प्रधानन्यायाधीश भएर सर्वोच्च अदालतको नेतृत्व गरिरहेका छन्।











