Kathmandu Press

डेंगुको उच्च जोखिममा कञ्चनपुर, परीक्षण गर्न किट अभाव

कञ्चनपुर, भदौ १५ : कञ्चनपुर डेंगुको उच्च जोखिममा छ। डेंगु सार्ने लार्भा भेटिएकाले कञ्चनपुर उच्च जोखिम रहेको हो।गत साता दोधारा–चाँदनी नगरपालिकामा २० जनामा...
डेंगुको उच्च जोखिममा कञ्चनपुर, परीक्षण गर्न किट अभाव

कञ्चनपुर, भदौ १५ : कञ्चनपुर डेंगुको उच्च जोखिममा छ। डेंगु सार्ने लार्भा भेटिएकाले कञ्चनपुर उच्च जोखिम रहेको हो।

गत साता दोधारा–चाँदनी नगरपालिकामा २० जनामा गरिएको परीक्षणमा चारमा डेंगु देखिएको थियो । उनीहरु भारतबाट आएको बताइएको छ।

‘तीन पुरुष र एक महिलामा डेंगु देखिएको छ । पुरुष भारतबाट आएका हुन् भने डेङ्गु देखिएका महिलाको बुवा र दाजु पनि भारतबाटै आएका हुन्,’ दोधारा–चाँदनीका स्वास्थ्य शाखा प्रमुख जयबहादुर महराले भने ।

भारतसँग सीमा जोडिएकाले आवतजावत बढी हुने हुँदा दोधारा–चाँदनी डेंगु सङ्क्रमणको उच्च जोखिममा छ। एडिस एजिप्टाइ र एडिस एल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु सर्ने गर्छ।

‘कञ्चनपुर र कैलाली डेंगुको उच्च जोखिममा छन्, पछिल्लो समय डेंगुका बिरामी बढ्न थालेका छन्,’ जिल्ला स्वास्थ्य कार्यालयका औलो निरीक्षक सिद्धराज भट्टले भने, ‘स्वास्थ्य कार्यालयको प्रयोगशालामा लामखुट्टेको लार्भा परीक्षण गर्दा डेंगु सार्ने प्रजाति भेटिएको छ, त्यसैले जोखिम उच्च छ।’

वर्षात पानी जम्ने ठाउँ, पानीको ट्यांकी, पुराना टायरलगायतमा जमेको पानीमा यो जातको लामखुट्टेले लार्भा पार्छ। यसको वृद्धिबाट डेङ्गुको प्रकोप बढ्छ । ‘यो लामखुट्टेबाट जोगिन घर वरपर पानी जम्न दिनु हुँदैन । अहिले डेंगु परीक्षण गर्न किट अभाव छ,’ भट्टले भने ।

गत वर्ष कञ्चनपुरमा १५ जनामा डेङ्गु देखिएको उनले बताए । जिल्लामा डेंगु र मलेरियाका बिरामी देखिन थाले पनि परीक्षणका लागि किटको अभाव रहेको छ ।

महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.अर्जुन भट्टले केही दिनयता अस्पतालमा मलेरिया र डेंगुका बिरामी देखिन थालेको बताए । अहिले अस्पतालमा  भाइरल ज्वरोका बिरामीको अत्यधिक चाप छ ।

प्रकाशित मिति: १०:३० बजे, बुधबार, भदौ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्