प्रधानन्यायाधीश जबरासँग महाअभियोग समितिले बयान लिने
काठमाडौं, भदौ १५ : प्रतिनिधिसभाको महाअभियोग सिफारिश समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग आज सोधपुछ गर्ने भएको छ।सत्तापक्षका सांसदले गत फागुन १ गते...
काठमाडौं, भदौ १५ : प्रतिनिधिसभाको महाअभियोग सिफारिश समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग आज सोधपुछ गर्ने भएको छ।
सत्तापक्षका सांसदले गत फागुन १ गते जबराविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए। त्यसमा छानबिन गरी महाअभियोग सिफारिश गर्न प्रतिनिधिसभाले समिति गठन गरेको थियो।
समितिले जबरासँग उनीमाथि लागेका आरोपबारे सोधपुछ गर्न लागेको हो। यसका लागि आज बिहान ११ बजे जबरालाई समितिमा बोलाइएको छ।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठककक्षमा महाअभियोग सिफारिश समितिको बैठक बस्नेछ। त्यहिँ जबरासँग सोधपुछ गरिने एक सदस्यले बताए।
यसअघि समितिले जबराविरुद्धका प्रमाण मागेको थियो। नेपाल बार एसोसिएसनले पनि जबराविरुद्ध प्रमाण समितिलाई बुझाएको थियो।
प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएसँगै जबरा निलम्बनमा छन्। न्यायाधीश दीपककुमार कार्कीले कायममुकायम प्रधानन्यायाधीश भएर सर्वोच्च अदालतको नेतृत्व गरिरहेका छन्।











