सिन्धुलीमा हात्ती आतंक, स्थानीयवासीमा त्रास
सिन्धुली, भदौ १४ : जिल्लामा जङ्गली हात्तीको त्रास बढेको छ। रातको समयमा गाउँ पसेर आतंक मच्चाउन थालेपछि त्रास बढेको हो। तीन वटा हात्तीले दुधौली...
सिन्धुली, भदौ १४ : जिल्लामा जङ्गली हात्तीको त्रास बढेको छ। रातको समयमा गाउँ पसेर आतंक मच्चाउन थालेपछि त्रास बढेको हो। तीन वटा हात्तीले दुधौली नगरपालिकामा मात्रै वर्षको चार पटकसम्म दुःख दिने गरेको स्थानीयवासी बताउँछन्।
'हात्तीले कहिले रु कुन ठाउँमा पुगेर आतंक मच्चाउँछन् भन्ने कसैलाई थाहा हुँदैन, जहिल्यै त्रासमा बस्नु परेको छ', दुधौली नगरपालिका–३ खट्टेपानीकी आइतीमाया सार्कीले सुनाइन्।
एक हप्तादेखि कमलामाई नगरपालिकाको वडा नम्बर ८, ९, १०, १३ र १४ मा प्रवेश गरेको हात्तीले घर भत्काउनुका साथै अन्नबाली नास गर्न थालेपछि छिमेकी वडाका स्थानीय बासिन्दाको समेत निद्रा हराम भएको छ।
हात्ती गाउँ पसेको जानकारी दिने भरपर्दो सूचना प्रणाली नभएकोले यस्तो समस्या भएको स्थानीय बचरी कार्की बताउँछिन्। उनी भन्छिन्, 'हात्ती गाउँमा पसेको जानकारी दिइने साइरन वा अन्य भरपर्दो सूचना प्रणाली अपनाउन सके यसबाट हुने मानवीय तथा भौतिक क्षतिमा कमी आउने थियो।'
गत शनिबार हरितालिका तीजको लागि कुटेर राखेको एक मुरी चामल हात्तीले खाइदिएको स्थानीय पुर्णबहादुर मश्राङ्गीले बताए। घरको एक पाखो भत्काई थप पाँच बोरा धान नास गरिदिएको उनको भनाइ छ। उनको छिमेकी बालानन्द बरालको आइतबार राति करिब दुई कठ्ठामा लगाएको धान उखेलेर र माडेर सखाप बनाइदिएको छ।
'राति सुतिराखेको बेलामा तीनवटा हात्ती आएर खेतमा भर्खर मलजल गरी हरियो भएको धान माडेर मैदान बनाएर सखाप बनाइदियो। म त आँखा देख्दिन, राति हात्ती आयो भनेर सबैले हल्लाखल्ला गरेपछि थाहा भयो', ७१ वर्षीय बरालले भने, 'हात्तीले माडेर मैदान पारेको धान अब सखाप भयो, यसको क्षतिपूर्ति पाउन पाए हुन्थ्यो।'
यही सात भदौँमा कमलामाई नगरपालिका–९ मा देखिएको हात्तीले हालसम्म कहाँ र कति क्षति गर्यो भन्ने एकिन तथ्याङ्क सङ्कलन भइसकेको छैन। एक सातामा हात्तीले दर्जनौं गोठ, भान्साघर भत्काउनुका साथै अन्नपात, केरा र धान खेतीमा क्षति पुर्याएको बताइएको छ।
जङ्गली हात्तीले गाउँमा पसेर गरेको क्षतिबारे स्थानीयले जानकारी दिएपछि कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोख्रेल आइतबार र सोमबार स्थलगत निरीक्षणमा निस्केको थिए। अनुगमनको क्रममा केही घर आंशिक रुपमा भत्काई दिएको र अन्नबालीमा नोक्सान गरेको पाइएको उनले बताए।
'हात्तीले नोक्सान गरेको एकिन विवरण सम्बन्धित वडालाई तत्काल सिफारिस गर्नु भनेको छु। हात्ती पीडितलाई उचित क्षतीपुर्तिको व्यवस्था हामी गछौँ', नगरप्रमुख पोख्रेलले भने।
हात्तीको आक्रमणले पुर्याएको नोक्सानी अनुसार वडाको सिफारिसमा नगरपालिकाले तत्काल राहत उपलब्ध गराउने उहाँले आश्वास दिनुभएको छ।
धेरै समयअघिबाट हात्तीको समस्या उस्तै रहेकोले यसको न्यूनिकरण गर्न सम्बन्धित निकायसँग समन्वय समेत भइरहेको उहाँले बताउनुभयो।
हात्तीको त्रासले गर्दा स्थानीयहरु रातभर जाग्राम बस्नुपर्ने बाध्यतामा छन्। हात्तीको आक्रमणबाट बच्न थप सजग रहन नगर प्रमुख पोख्रेलले सबैलाई आग्रह गर्नु भएको छ।
तीन वटा हात्तीको समुहले यसअघि भत्काएका घरहरुको पुनःनिर्माण सुरु नहुँदै पुनः भत्काउन सुरु गरेपछि हात्ती पीडित स्थानीय बासिन्दा चिन्तित भएका छन्।











