रत्नपार्कमा सञ्चालन हुन थाल्याे विद्युतीय सवारीको चार्जिङ स्टेसन
काठमाडौं, भदौ १४ : नेपाल विद्युत् प्राधिकरणले रत्नपार्कमा विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आज (मंगलबार) चार्जिङ...
काठमाडौं, भदौ १४ : नेपाल विद्युत् प्राधिकरणले रत्नपार्कमा विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आज (मंगलबार) चार्जिङ स्टेसनको उद्घाटन गरिन्।
देशका विभिन्न स्थानमा यस्ता चार्जिङ स्टेसन बनाउने बताउँदै आएको प्राधिकरणले रत्नपार्कस्थित आफ्नो कार्यालयसँगै चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो।
विद्युत् खपत प्रबर्द्धन गर्न तथा विद्युतीय सवारीको प्रयोगलाई बढावा दिन चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको प्राधिकरणको भनाइ छ। देशका प्रमुख सहर तथा राजमार्गहरुमा ५१ वटा चार्जिङ स्टेसन बनाउने योजना रहेको प्राधिकरणले बताएको छ।
प्राधिकरणले ब्याट्रीको क्षमताअनुसार आधादेखि एक घण्टासम्ममा पूर्ण रुपमा चार्ज गर्न सकिनेछ। पेट्रोलियम पदार्थ प्रयोग गर्दा लाग्ने खर्चको तुलनामा विद्युतबाट सवारीसाधन चलाउँदा सस्तो पर्न जान्छ।
रत्नपार्ककाे चार्जिङ स्टेसनबाट एकैपटक तीन वटा सवारी चार्ज गर्न मिल्ने प्राधिकरणले जनाएको छ भने एउटा स्टेसन बनाउन करिब ९० लाख रुपैयाँ खर्च हुने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिए।
देशका विभिन्न ५१ वटा ठाउँमा पनि चार्जिङ स्टेसन निर्माण भइरहेको प्राधिकरणाले जनाएको छ। प्राधिकरणका अनुसार मुलुका विभिन्न राजमार्गका साथै मुख्य बसपार्क र अन्य आवश्यक देखिएका स्थानमा समेत चार्जिङ स्टेशन थप गर्दै लैजाने योजना रहेको छ।











