Kathmandu Press

दर्शनार्थीका लागि डेढ दशकपछि खुल्यो पशुपतिको पूर्वी ढोका

काठमाडौं, भदौ १४ : मूल भट्टमा नेपाली पुजारी नियुक्ती प्रकरणपछि बन्द रहेको पशुपतिनाथ मन्दिरको पूर्वी ढोका झण्डै  डेढ दशकपछि खुलेको छ। २०६५मा मूल...
दर्शनार्थीका लागि डेढ दशकपछि खुल्यो पशुपतिको पूर्वी ढोका

काठमाडौं, भदौ १४ : मूल भट्टमा नेपाली पुजारी नियुक्ती प्रकरणपछि बन्द रहेको पशुपतिनाथ मन्दिरको पूर्वी ढोका झण्डै  डेढ दशकपछि खुलेको छ। २०६५मा मूल भट्ट नियुक्तिमा विवाद भएपछि बन्द गरिएको पूर्वी ढोका तीजको अवसरमा मंगलबार खोलिएको हो ।

तत्कालिन प्रधानमन्त्री प्रचण्डले पशुपतिनाथ मन्दिरमा भारतीय भट्टको ठाउँमा नेपाली भट्ट नियुक्त गरेपछि विवाद भएपछि पशुपतिको पूर्वी ढोकाबाट दर्शनार्थीको प्रवेशमा रोक लगाइएको थियो।

पूर्वी ढोकाबाट समेत प्रवेश गर्न दिएर यसवर्ष तिजमा भक्तजनका लागि ४ वटा मार्गको व्यवस्था गरिएको कोषले जनाएको छ। वर्तालु भक्तजनका लागि सहज बनाउन नयाँ लामको व्यवस्था गरी पूर्वी ढोकाबाट प्रवेश गर्न मिल्ने बनाइएको हो।

कोटेश्वर–तीनकुने –सिनामंगल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगंगा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरेको छ।

दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान सवा ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।

दोस्रो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ भने तेस्रो लाम गौशाला–पिंगलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ। यस्तै, चौथो लाम गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ।

वर्तालु जुन ढोकाबाट भित्र प्रवेश गर्छन् त्यसै ढोकाबाट बाहिर निस्कने गरेका छन्। मन्दिरका चार ढोका बेलुकी भक्तजन लाममा बसेसम्म खुला गरिने जनाइएको छ।

 

प्रकाशित मिति: ११:५३ बजे, मंगलबार, भदौ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्