Kathmandu Press

तीजका लागि पशुपतिनाथ मन्दिरका चारै ढोका खुला

काठमाडौं, भदौ १४ : तीजको अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका खुला गरिएका छन्।आज बिहान ३ः१५ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खुला गरिएको...
तीजका लागि पशुपतिनाथ मन्दिरका चारै ढोका खुला

काठमाडौं, भदौ १४ : तीजको अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका खुला गरिएका छन्।

आज बिहान ३ः१५ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए। दर्शनार्थीको सहजताका लागि सबै ढोका खोलिएको उनको भनाइ छ।

पशुपतिनाथ मन्दिरको पूर्वी ढोका १४ वर्षपछि खोलिएको हो। यो ढोका शिवरात्रिमा मात्रै खोलिने गरेको थियो।

यो ढोका २०६५ सालमा बन्द गरिएको थियो। पशुपतिनाथका मूलभट्ट परिवर्तन गर्दा विवाद भएपछि पूर्वी ढोका बन्द गरिएको थियो।

यस वर्ष कोटेश्वर, तीनकुने र सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको प्रवक्ता अधिकारीले बताए।

त्यस्तै, दोस्रो लाइन मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउनेछ। गौशाला–पिङ्गलास्थान–पञ्चदेवल क्षेत्रबाट तेस्रो लाइन पशुपतिनाथ मन्दिर प्रवेश गर्न पाउनेछ।

यसैगरी, चौथो लाइन गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्ने व्यवस्था गरिएको छ।

चारै लाइन व्यवस्थित गर्न स्वयंसेवक परिचालन गरिएका छन्। मूल मन्दिरभित्र भने महिला सुरक्षाकर्मी र महिला स्वयंसेवक मात्रै खटिने व्यवस्था गरिएको छ।

भक्तजनको स्वास्थ्यलाई ख्याल गर्दै पशुपतिनाथ मन्दिर परिसरमा स्वास्थ्य शिविर राखिएको छ। यससँगै ठाउँठाउँमा पानी, जुसलगायतको पनि व्यवस्था गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए।

प्रकाशित मिति: ०८:२९ बजे, मंगलबार, भदौ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्