Kathmandu Press

ऊर्जामन्त्री भुसालसँग स्लोभाक गणतन्त्रका राजदूतको भेट

काठमाडाैं, भदाै १३ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि स्लोभाक गणतन्त्रका नवनियुक्त राजदूत रोबर्ट म्यक्सियनले भेट गरेका छन्।मन्त्रालयमा आज भएको...
ऊर्जामन्त्री भुसालसँग स्लोभाक गणतन्त्रका राजदूतको भेट

काठमाडाैं, भदाै १३ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि स्लोभाक गणतन्त्रका नवनियुक्त राजदूत रोबर्ट म्यक्सियनले भेट गरेका छन्।

मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध र जल तथा मौसम विज्ञानका विविध विषयमा छलफल भएको छ। सो अवसरमा मन्त्री भुसालले विगत २० वर्षदेखि दुई देशबीच रही आएको सुमधुर सम्बन्ध मित्रता, हार्दिकता, आपसी सहकार्य र सद्भावमा आधारित रहेको उल्लेख गर्दै युरोपेली सङ्घको सदस्य मुलुक स्लोभाकले नेपालको सामाजिक एवं आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेकामा अभार व्यक्त गरिन्।

विकास साझेदार मुलुकको सहयोगमा नेपालले सुशासन एवं सामावेशी नागरिक सहभागिताको लक्ष्यमार्फत स्थितरता, प्रगति एवं दिगो विकासका लक्ष्य प्राप्त गर्ने उद्देश्य लिएको उल्लेख गर्दै मन्त्री भुसालले आगामी दिनमा जलवायु परिवर्तन एवं मौसम पूर्वानुमानका विषयमा स्लोभाकसँग सहकार्य गरेर अगाडि बढ्न सकिने बताइन्।

नेपालको आर्थिक विकासको प्रमुख आधारमध्ये पर्यटन प्रवर्धन एक रहेको बताउँदै उनले उल्लेख्यमात्रामा नेपाल आउने स्लोभाक पर्यटकका कारण दुई देशबीचमा जनस्तरको सम्बन्ध पनि विकास भएकामा  खुसी व्यक्त गरिन्।

सो अवसरमा राजदूत म्यक्सियनले नेपाल र स्लोभाक गणतन्त्र दुवै भूपरिवेष्ठित मुलुक भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए। आफ्नो देशमा मौसससंग सम्बन्धित प्रविधिको राम्रो विकास भएको जानकारी गराउँदै उहाँले स्लोभाकमा उत्पादन भएका राडारसहित यस्ता प्रविधि उपलब्ध गराएर पूर्बाधार विकासमा सहकार्य गर्न सकिने विश्वास दिलाए।

भेटमा सहसचिवद्वय बाबुराम भण्डारी, चिरञ्जीवी चटौतसहित परराष्ट्र मन्त्रालयका अधिकारीको उपस्थिति थियो।

प्रकाशित मिति: १५:१८ बजे, सोमबार, भदौ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्