‘विधेयक स्वीकृत गर्दा अस्वीकृत भएका संशोधनबारे छलफल गर्नु उपयुक्त हुन्न’
काठमाडौं, भदौ १३ : गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक स्वीकृत गर्दा अस्वीकृत भएका संशोधनबारे छलफल गर्न उपयुक्त नहुने भएकाले राष्ट्रपतिले पठाएको सन्देशउपर मात्रै छलफल गर्नुपर्नेमा...
काठमाडौं, भदौ १३ : गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक स्वीकृत गर्दा अस्वीकृत भएका संशोधनबारे छलफल गर्न उपयुक्त नहुने भएकाले राष्ट्रपतिले पठाएको सन्देशउपर मात्रै छलफल गर्नुपर्नेमा जोृड दिएका छन्।
विधायन व्यवस्थापन समितिको आज (सोमबार) भएको छलफलमा एमाले सांसदहरुले नागरिकता विधेयकबारे सरकारको धारणा मागेपछि उनले त्यस्तो बताएका हुन्।
‘विधेयक स्वीकृत गर्दा अस्वीकृत भइसकेको संशोधनबारे छलफल गर्नु उपयुक्त नहोला,’ उनले भने, ‘यसकारण राष्ट्रपतिले पठाएको सन्देशउपर नै छलफल गर्नु उपयुक्त हुन्छ भन्ने लाग्छ।’
सांसद देवेन्द्र दाहालले सरकारको धारणा आएपछि मात्र छलफलका लागि सहज हुने बताएका थिए। त्यस्तै सांसद विमला राई पौड्याल अहिले फिर्ता आइसकेपछि पहिले हालेको संशोधन के हुन्छ भनी प्रश्न गरेकी थिइन् भने अर्का सांसद भैरवसुन्दर श्रेष्ठले विज्ञहरुका भनाइ पनि सुन्नुपर्नेमा जोड दिएका थिए।
गृहमन्त्री खांणले राष्ट्रपतिको पत्रको सम्मान गर्ने उल्लेख गर्दै भने, ‘संसदीय अभ्यासमा विधेयक प्रमाणीकरणका लागि पठाएपछि संदेशसहित फिर्ता आएको प्रक्रियालाई सरकार सम्मान गर्छ।’











