छात्राहरूलाई दुर्व्यवहार गरेको आरोपमा नोबेल एकेडेमीका एक शिक्षक पक्राउ
काठमाडौं, भदौ १३ : छात्राहरूलाई दुर्व्यवहार गरेको आरोपमा नयाँ बानेश्वरस्थित नोबेल एकेडेमीका एक शिक्षक पक्राउ परेका छन्।जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई आज...
काठमाडौं, भदौ १३ : छात्राहरूलाई दुर्व्यवहार गरेको आरोपमा नयाँ बानेश्वरस्थित नोबेल एकेडेमीका एक शिक्षक पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई आज (सोमबार) नियन्त्रणमा लिएको हो। छात्राहरूलाई दुर्व्यवहार भएको भन्दै एकेडेमीका विद्यार्थीहरुले सोमबार बिहानैदेखि प्रदर्शन गरेका थिए।
विद्यार्थीहरूले बिहानैदेखि प्रदर्शन गरिरहेकाे सूचनापछि घटनाबारे बुझ्न आरोपित शिक्षकलाई कार्यालयमा बोलाएर सोधपुछ गरिरहेको नयाँ बानेश्वर प्रहरी वृत्तले जानकारी दिएकाे छ। आन्दोलनरत विद्यार्थीहरूलाई पनि बाेलाएर सोधपुछ भइरहेकाे जनाइएकाे छ।
पीडित छात्राहरूले भने जाहेरी दिने तयारी गरिरहेकाे बुझिएकाे छ। त्यसका लागि उनीहरू प्रहरी कार्यालयमा पुगेका छन्।
आरोपित शिक्षकले छात्राहरूलाई अश्लील म्यासेज र तस्बिर पठाउने गरेको आन्दोलित विद्यार्थीहरूले आरोप लगाउँदै आएका छन् ।
यसअघि पनि छात्रालाई दुर्व्यवहार गरेको अभियोगमा चावहिलस्थित सेन्ट लरेन्सका दुई शिक्षक पक्राउ परेका थिए। विद्यार्थीहरुले प्रर्दशन गरेपछि प्रहरीले शिक्षकलाई नियन्त्रणमा लिएको थियो। अदालतले सेन्टलरेन्सका कोअर्डिनेटर र शिक्षकलाई पुर्पक्षको लागि थुनामा पठाएको थियो।











