तेस्रो टि–२० मा केन्यामाथि नेपालको जित
पहिला ब्याटिङ गर्दै केन्याले दिएको १५७ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो । नेपालका लागि पूर्वकप्तान ज्ञानेन्द मल्ले सर्वाधिक ४६ रन बनाए। उनले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
काठमाडौं, भदौं १२ : केन्या भ्रमणमा रहेको नेपाल टि–२० सिरिजको तेस्रो खेलमा विजयी भएको छ। शनिबार केन्याको नैरबीमा भएको खेलमा नेपालले घरेलु टोली केन्यामाथि ४ विकेटको जित निकालेको छ।
पहिला ब्याटिङ गर्दै केन्याले दिएको १५७ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो । नेपालका लागि पूर्वकप्तान ज्ञानेन्द मल्ले सर्वाधिक ४६ रन बनाए। उनले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
यस्तै, नेपाली टिममा डेब्यू गरिहेका अर्जुन साउदले ३१ बलमा २ चौका ३ छक्का प्रहार गर्दै ३५ रन बनाउँदा रोहितकुमार पौडेलले १८ बलमा २९ र पवन सर्राफले १२ बलमा २० रन बनाए।
केन्याका विराज पटेल र युजिन आकेनले समान २ विकेट लिँदा इमान्युअल बुन्डी र कोलिन ओबुयाले समान १ विकेट लिए।
यसअघि पहिला ब्याटिङ गरेको केन्याले निर्धारित ओभरमा २ विकेट मात्र गुमाएर १५६ रन बनायो। अन्तिम ३ ओभरमा ४६ रन बनाएपछि केन्याले चुनौतीपूर्ण योगफल बनाएको थियो।
केन्याका लागि रकिप पटेल र इरफान करिमले शतकीय साझेदारी गरे। यी दुई तेस्रो विकेटका लागि १२७ रनको साझेदारी गरेका थिए। रकिब ४३ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ७३ रन बनाउँदा करिमले ४७ बलमा ४ चौका र २ चौका प्रहार गर्दै ५५ रन बनाए।
नेपालका सोमपाल कामी र अदिल आलमले समान १ विकेट लिए।
योसँगै नेपाले ५ खेलको टि–२० सिरिज २–१ को अग्रता लिएको छ। पहिलो खेल नेपालले ५ विकेटले जितिको थियो दोस्रो खेलमा केन्या १८ रनले विजयी भएको थियो।











