आन्दोलनरत विद्यालय कर्मचारीलाई शिक्षा मन्त्रालयले वार्तामा बाेलायाे
काठमाडौं, भदौ १२ : विभिन्न माग राखेर आन्दोलनर गरिरहेको विद्यालय कर्मचारीलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वार्ताका लागि बोलाएको छ।सरकारले तलबमा विभेद गरेको भन्दै...
काठमाडौं, भदौ १२ : विभिन्न माग राखेर आन्दोलनर गरिरहेको विद्यालय कर्मचारीलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वार्ताका लागि बोलाएको छ।
सरकारले तलबमा विभेद गरेको भन्दै विद्यालय उनीहरु आन्दोलित भएपछि शिक्षा मन्त्रालयले विद्यालय कर्मचारी परिषद्लाई वार्तामा बोलाएको हो। कर्मचारीको आन्दोलनका कारण अधिकांश सामुदायिक विद्यालयको पठनपाठन प्रभावित बनेको छ।
सेवासुविधासम्बन्धी विभिन्न माग राखेर केही दिनदेखि विद्यालय कर्मचारीहरू आन्दोलनरत छन्। शिक्षा मन्त्रालयका कानुन उपसचिव विदुरराज गिरीले कर्मचारीको आन्दोलनप्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताए।
‘विद्यालय कर्मचारीहरूको सेवा सुविधालाई व्यवस्थित किसिमबाट सम्बोधन गर्न विगतमा नेपाल शिक्षक महासंघबीच भएको सहमतिसँग सम्बन्धित कार्यसूचीमा समावेश गरिएको सन्दर्भमा सो विषयमा मन्त्रालयबाट अन्य निकायसँग समन्वय गरी समस्याको समाधान खोज्ने प्रयास जारी रहेको सबैलाई विदितै छ,’ शिक्षा मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यसै क्रममा ज्ञापनपत्रमा उठाएका मागहरूको विषयमा नेपाल शिक्षक महासंघमार्फत छलफल तथा वार्तामा सहभागी हुन तथा हाल घोषणा गरिएको विद्यालय बन्दका कार्यक्रमहरू स्थगित गरी विद्यालयका दैनिक पठनपाठन सहज हुने वातावरण सिर्जना गर्न समेत मन्त्रालय अनुरोध गर्दछ।’
शुक्रबार शिक्षा मन्त्रालयमा आन्दोलनरत विद्यालय कर्मचारी परिषद्, नेपाल शिक्षक महासंघलगायत र शिक्षा मन्त्रालयका अधिकारीहरूबीच सामान्य छलफल भएको थियो। छलफलपछि परिषद्का अध्यक्ष गंगाराम तिवारीले मन्त्रालयले औपचारिक रूपमा पत्र काटेर वार्तामा बोलाउनुपर्ने बताएका थिए।












