पालाे पुर्याउन कर्णालीमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा
सुर्खेत, भदाै १२ : कर्णाली प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन्। माओवादी केन्द्रबाट सरकारमा सहभागी जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंह र...
सुर्खेत, भदाै १२ : कर्णाली प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन्। माओवादी केन्द्रबाट सरकारमा सहभागी जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजना मन्त्री विन्धमान विष्टले राजीनामा दिएका हुन्।
माओवादी केन्द्र संसदीय दलले उनीहरूलाई राजीनामा दिन आग्रह गरेसँगै आइतबार मन्त्रीद्वयले मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष राजीनामा बुझाएका हुन्। राजीनामापत्र बुझेलगत्तै मुख्यमन्त्री शाहीले स्वीकृतसमेत गरिसकेका छन्।
माओवादी केन्द्रले शुक्रबार ती दुई मन्त्रीलाई फिर्ता बोलाउन गरेको निर्णय गरेर मुख्यमन्त्री शाहीलाई पत्र पठाएको थियो।
माओवादी केन्द्र कर्णालीले मन्त्री हुन बाँकी निर्वाचित र समानुपातिक सांसदलाई पालो पुर्याउन उनीहरूलाई राजीनामा दिन लगाएको हो। उनीहरूका ठाउँमा अब दलकी सचेतक कृष्णा शाह र रुकुम पश्चिमका सांसद रातो कामीलाई मुख्यमन्त्री शाहीले सोमबार मन्त्री नियुक्त गर्ने जनाइएको छ।
उनीहरू मन्त्री बनेसँगै पाँच वर्षको अन्तरालमा प्रदेशसभामा रहेको माओवादीका सबै ११ सदस्य मन्त्री हुने भएका छन्। नौ जना मन्त्री भइसकेका र बाँकी दुई जना पनि सोमबार दुई महिनाका लागि मन्त्री नियुक्त हुने भएका छन्।
सुरुमा ४० सदस्यीय रहेको प्रदेशसभामा माओवादी केन्द्रका १३ सांसद थिए। दैलेखका धर्मराज रेग्मी र सुर्खेतका ठम्मर विष्ट मन्त्री पद नपाएकै कारण एमालेतिर लागेपछि प्रदेशसभामा माओवादी सांसदको संख्या ११ मा झरेको थियो।











