Kathmandu Press

प्रदेश १ को प्रदेशसभा बैठक भदौ १७ मा, प्रदेशकाे नामै नराखी अधिवेशन अन्त्यकाे सम्भावना

विराटनगर, भदौ १२ : प्रदेश १ को प्रदेशसभा बैठक भदौ १७ गते बस्ने भएको छ। प्रदेशसभा सचिव  गोपालप्रसाद पराजुलीले एक सूिचना जारी गरेर भदौ...
प्रदेश १ को प्रदेशसभा बैठक भदौ १७ मा, प्रदेशकाे नामै नराखी अधिवेशन अन्त्यकाे सम्भावना

विराटनगर, भदौ १२ : प्रदेश १ को प्रदेशसभा बैठक भदौ १७ गते बस्ने भएको छ। प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले एक सूिचना जारी गरेर भदौ १७ का लागि बैठक बोलाइएको जानकारी दिएका हुन्।

सभामुख  प्रदीपकुमार भण्डारीले प्रदेशसभा अन्त्य गर्ने उद्देश्यले बैठक बोलाएको जनाइएको छ। 

प्रदेशसभाको चालु अधिवेशनबाट प्रदेशको नामकरण गर्ने भनिएको थियो तर दलहरुबीच सहमति जुट्न नसक्दा प्रदेश १ ले नाम पाउन सकेको छैन।

आगामी मंसिर ४ का लागि प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन मिति घोषणा भइसकेका कारण सभामुख भण्डारीले नामकरणको सम्भावना नदेखेपछि अधिवेशन अन्त्यको मुड बनाएका हुन्।  

भदौ १७ मा बस्ने बैठकमा दुईवटा विधेयकमा छलफल हुने र ती विधेयक पारित भएपछि अधिवेशन अन्त्य गर्ने तयारी रहेको प्रदेशसभा सचिवालयले बताएको छ।

६ वटा प्रदेशले नामकरण गरिसकेको अवस्थामा दबाबमा रहेका दलहरूले यसै अधिवेशनमा प्रदेशको नाम राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए। तर सबैलै आआफ्ना अडानबाट पछि नहट्दा दलहरूको प्रतिबद्धता निरर्थक बन्न पुगेको छ।

एमालेले भूगोलका आधारमा र माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र साना दलले पहिचानका आधारमा नाम राख्नुपर्ने अडान राखेपछि सहमति जुट्न नसकेको हो। कांग्रेसले सहमतिका आधारमा नाम राख्नुपर्ने बताउँदै आएको छ।

शनिबार विराटनगरमा आयोजित कार्यक्रममा  सभामुख भण्डारीले जारी अधिवेशनबाट नाम आउने सम्भावना टरेको बताएका थिए। उनले भनेजस्तै हुने हो भने प्रदेश १ ले नामकरणमका लागि मंसिर ४ पछि निर्वाचित हुनेहरूको दोस्रो प्रदेशसभा नै पर्खनुपर्ने अवस्था देखिएको छ।

प्रकाशित मिति: १५:०७ बजे, आइतबार, भदौ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्