Kathmandu Press

दफावार छलफलका लागि नागरिकता विधेयक विधायन व्यवस्थापन समितिमा पठाइयाे

गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशशसहित प्राप्त विधेयक २०७९ लाई पुनर्विचारका लागि विधायन समितिमा समितिमा पठाइयोस् भन्ने प्रस्ताव राखेका थिए।
दफावार छलफलका लागि नागरिकता विधेयक विधायन व्यवस्थापन समितिमा पठाइयाे

काठमाडौं, भदौ १२ : राष्ट्रिय सभाले राष्ट्रपतिबाट पुनविचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ माथि दफावार छलफल गर्न विधायन व्यवस्थापन समितिमा पठाएको छ।

राष्ट्रिय सभाको आज (आतइबार) बसेको दोस्रो बैठकले सो विधेयकलाई विधायन व्यवस्थापन समितिमा पठाएको हो। पहिलो बैठकमा भने राष्ट्रपतिबाट फिर्ता भएको र प्रतिनिधिसभाबाट पारित भएर आएको सन्देशबारे जानकारी गराइएको थियो।

नौ मिनेटका लागि बैठक स्थगित गरी तयार पारिएको कार्यसूचीअनुसार गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशशसहित प्राप्त विधेयक २०७९ लाई पुनर्विचारका लागि विधायन समितिमा समितिमा पठाइयोस् भन्ने प्रस्ताव राखेका थिए।

उक्त प्रस्ताव बैठकबाट सर्वसम्मतिले पारित भयो। त्यसलगत्तै स्थगित भएकाे राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गते दिउँसाे २ बजे बस्नेछ।

उक्त समितिले अब राष्ट्रपति भण्डारीले गरेको टिप्पणीमाथि छलफल गर्नेछ। समितिले प्रतिवेदन पेस गर्न सक्नेगरी विधेयक समितिमा पठाइएको हो।

चार दिनमा समितिले छलफल गरी प्रतिवेदन दिन सक्नेछ। समितिको प्रतिवेदनपछि राष्ट्रिय सभाले उक्त विधेयकबारे निर्णय लिनेछ।

यसअघि राष्ट्रपतिबाट फिर्ता भएको विधेयक प्रतिनिधिसभाबाट भदौ २ मा हुबहु पारित भएर त्यसलाई  राष्ट्रियसभामा पठाइएकाे हाे।

राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरे त्यस्तो विधेयक दुवै सदनले पुनः पारित गर्नुपर्ने संवैधानिक व्यवस्था  छ।

संघीय संसदले पुनः पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ। संविधानका व्यवस्था अनुसार दोस्रोपटक पारित भएर गएको विधेयक फिर्ता गर्ने छुट राष्ट्रपतिलाई हुँदैन।

संघीय संसदका दुवै सदनबाट पारित भई नागरिकता विधेयक साउन १५ गते प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको थियो। तर राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि भन्दै विधेयकलाई प्रतिनिधि सभामै फिर्ता पठाएकी थिइन्।

प्रकाशित मिति: १४:१५ बजे, आइतबार, भदौ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्