राष्ट्रिय सभा बैठक बस्दै, नागरिकता विधेयक टेबुल गर्ने कार्यसूची
राष्ट्रपति कार्यालयबाट सुझावसहित फिर्ता भएको विधेयक प्रतिनिधि सभाले हुबहु पारित गरिसकेको छ । संसदको दुबै सदनबाट पारित गराई विधेयकलाई पुनः प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने तयारी सरकारको छ ।
काठमाडौं, भदौ १२ : राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सूचनाअनुसार दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रपति विद्यादवी भण्डारीले सुझावसहित फिर्ता पठाएको नागरिकता विधेयकबारे संसदमा जानकारी गराइनेछ ।
बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन्।
राष्ट्रपति कार्यालयबाट सुझावसहित फिर्ता भएको विधेयक प्रतिनिधि सभाले हुबहु पारित गरिसकेको छ । संसदको दुबै सदनबाट पारित गराई विधेयकलाई पुनः प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने तयारी सरकारको छ ।
संघीय संसदका दुवै सदनबाट पारित भई नागरिकता विधेयक साउन १५ गते प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको थियो । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि भन्दै विधेयकलाई प्रतिनिधि सभामै फिर्ता पठाएकी थिइन् ।
राष्ट्रपतिले कुनै विधेयक सन्देश सहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तोे विधेयक जस्ताको तस्तै वा संशोधन सहित पारित गरी पुनः राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउन सक्छ ।
विधेयक पुनः संघीय संसदबाट पारित भएर गएपछि राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ। संविधानतः फेरि पारित भएर गएको विधेयक फिर्ता गर्न सक्ने अधिकार राष्ट्रपतिलाई छैन ।











