रुपन्देहीको विकासले देशकै पहिचान बलियो बनाएको छ : गृहमन्त्री खाण
बुटवल, भदाै ११ : गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको विकासले देशकै पहिचान बलियो बनाएको बताएका छन्।शनिबार संघीय सरकारले बुटवल उपमहानगरपालिका–८ रामनगरमा निर्माण गरेको अन्तर्राष्ट्रिय...
बुटवल, भदाै ११ : गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको विकासले देशकै पहिचान बलियो बनाएको बताएका छन्।
शनिबार संघीय सरकारले बुटवल उपमहानगरपालिका–८ रामनगरमा निर्माण गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्दै उनले रुपन्देहीमा बनेको अन्तर्राष्ट्रिय विमानस्थल, बुद्धस्थल लुम्बिनीमा सम्पन्न हुन लागेको लुम्बिनी गुरुयोजना, बुटवलमा सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलगायतका पूर्वाधारहरूले देशकै गरिमा बढाएको बताए।
गृहमन्त्री खाणले राज्यले गरेको लगानीलाई प्रतिफलमुखी बनाउन सम्मेलन केन्द्रलाई अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिए। ‘म यहाँ उपस्थित उद्योगी, व्यवसायी, संघसंस्थाका प्रतिनिधिहरूलाई आग्रह गर्न चाहन्छुु,’ उनले भने, ‘यो सम्मेलन केन्द्रको अत्यधिक उपयोग गरौं।’ उनले हरेक दिन तीन लाखका दरले कार्यक्रम गर्नेगरी सञ्चालनको मोडालिटी बनाउन पनि आग्रह गरे।
उनले धादिङ र चितवनमा सुरुङमार्ग बनाएर रसुवा र बेलहियालाई जोड्ने गरी सडक निर्माणका लागि सरकारले योजना अघि सारेको मन्त्री खाणको भनाइ थियो। उनले सिद्धबाबामा सुरुङ मार्ग निर्माणको काम सुरु भएकाले बुटवललाई सुरक्षित सहरका रुपमा विकास गर्नुपर्ने बताए।
मोतीपुर औद्योगिक क्षेत्रमा स्थानीय नागरिकलाई विस्थापित हुन नदिने गरी औद्योगिक क्षेत्रको निर्माण गर्न सरकारले प्रयत्न गरेको उल्लेख गर्दै उनले अस्थायी रुपमा बसेकालाई स्थायित्व कसरी गराउने भनेर भूूमि आयोगमार्फत प्रक्रिया सुरु भइसकेको जानकारी दिए।
उक्त सम्मेलन केन्द्र दुई चरणमा गरी १ अर्ब ११ करोडको लागतमा निर्माण गरिएको हो। पाँच वर्षअघि निर्माण सुरु भएको केन्द्रमा नेपालको झन्डा आकारमा तयार पारिएको छ। केन्द्रमा एकै पटकमा एक हजार जना मानिस अट्ने सभा हल र बैठक कक्षहरू रहेका छन्। ९.६ बिगाहा क्षेत्रफल जमिनमा बनेको सम्मेलन केन्द्रमा सभा हलसहित ६ वटा बैठक हल र २ वटा बहुउद्देश्यीय हल तयार भएको छ।

-1786430634.png)









