माओवादी भन्छ– मन्त्रिपरिषद् समावेशी बनाउन शाह र कामीको सिफारिस
सुर्खेत, भदौ ११ : कर्णाली मन्त्रिपरिषद्मा रहेका आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाउँदै नेकपा माओवादी केन्द्रले कृष्ण शाह र रातो कामीलाई मन्त्री बनाउन सिफारिस...
सुर्खेत, भदौ ११ : कर्णाली मन्त्रिपरिषद्मा रहेका आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाउँदै नेकपा माओवादी केन्द्रले कृष्ण शाह र रातो कामीलाई मन्त्री बनाउन सिफारिस गरेको छ।
सो सिफारिसपछि माओवादीले मन्त्रिपरिषद्लाई समावेशी बनाउन शाह र कामीलाई मन्त्री बनाउन लागिएको बताएको छ। यी मन्त्री बनेसँगै माओवादीका ११ सांसद् नै मन्त्री बनिसकेका छन्।
माओवादीले आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएको थियो। शाह योजनामन्त्री र कामी ऊर्जा विकासमन्त्री बन्ने छन् ।
प्रदेश सरकारलाई समावेशी बनाउनका लागि विष्ट र सिंहलाई फिर्ता बोलाइएको माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीले बताइन् । सोही अनुसार शाह र कामीलाई मन्त्रीमा सिफारिस गरिएको उनले बताइन्।
‘सकेसम्म मुख्यमन्त्री तथा सत्ता गठबन्धनभित्रका अन्य दलले मन्त्रिपरिषद् समावेशी बनाए हुन्थ्यो’, उनले भनिन्, ‘समानुपातिक र समावेशी सिद्धान्तको एजेण्डाको प्रमुख नेतृत्वकर्ता माओवादी भएकाले सरकारमा महिलाका तर्फबाट शाह र दलितबाट कामीलाई पठाउने निर्णय भएको हो ।’

-1786430634.png)









