निर्वाचनका लागि घरघरमा मतदाता शिक्षा दिइने
काठमाडौं, भदौ ११ : निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि विद्युतीय प्रचार सामग्री र मतदाताको घरदैलो कार्यक्रम गर्ने भएको छ।
स्थानीय निर्वाचनमा घरदैलो कार्यक्रम नगरेका कारण मतदाता शिक्षा अपुग भएको गुनासो आएपछि आयोगले अबको निर्वाचनका लागि घरदैलो कार्यक्रम गर्ने तय गरेको हो ।
आयोगका मतदाता शिक्षा तथा सूचना शाखाका प्रमुख तथा सूर्यप्रसाद अर्यालले अर्थ मन्त्रालयबाट समग्र निर्वाचनको बजेट स्वीकृति र आयोगबाट निर्वाचनसम्बन्धी निर्देशिकाहरु जारी भएपछि त्यसका आधारमा सामग्रीहरुलाई अन्तिमरुप दिइने बताए।
विद्युतीय स्रोत सामग्रीको उत्पादनमा विशेष जोड दिइने र त्यसलाई सञ्चारमाध्यम, सामाजिक सञ्जाल र अन्य माध्यमबाट प्रचारप्रसार गरिने अर्यालले बताए। कम खर्च र स्मार्टरुपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेका कारण स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि घरदैलोमा टोली पठाइएको थिएन । आयोगले श्रव्यदृश्य सामग्री र विभिन्न सन्देश तयार गरेर आयोगको आफ्नै फेसबुक, युट्युब, ट्वीटर, भाइबरमा नियमित प्रसारण गर्नेछ।
आयोगले विशिष्ट व्यक्ति, लोकप्रिय कलाकार र व्यक्तित्वहरुलाई समेटेर निर्वाचनको महत्व, आचारसंहिताका व्यवस्थाका विषयका आधारमा सन्देश तयार गर्नेछ ।











