Kathmandu Press

वायुमण्डलमा हरितगृह ग्याँसको तह अहिलेसम्मकै उच्च

जलवायु परिपर्तनमा हरितगृह ग्याँस मुख्य कारण हो। संयुक्त राष्ट्र संघका अनुसार पोहोर वायुमण्डलमा हरितगृह ग्याँसको तह हालसम्मकै उच्च थियो। योसँगै मानव जातिको भविष्य सुरक्....

वायुमण्डलमा हरितगृह ग्याँसको तह अहिलेसम्मकै उच्च

जलवायु परिपर्तनमा हरितगृह ग्याँस मुख्य कारण हो। संयुक्त राष्ट्र संघका अनुसार पोहोर वायुमण्डलमा हरितगृह ग्याँसको तह हालसम्मकै उच्च थियो। योसँगै मानव जातिको भविष्य सुरक्षित राख्न आह्वान गरिएको छ।

“वायुमण्डलमा हरितगृह ग्याँसको सघनता ओरालो लाग्नु त परै जाओस् यसको गति पनि सुस्ताएको छैन। जलवायु परिवर्तनबारे पेरिस सम्झौता अन्तर्गत गरिएका प्रतिबद्धताहरू पूरा भएका छैनन्,” वर्ल्ड मेटियोरोलोजिकल अर्गनाइजेसन (डब्ल्युएमओ)का प्रमुख पेट्टेरी तालसले भने।

डब्ल्युएमओको मुख्य वार्षिक ग्रिनहाउस ग्याँस बुलेटिन अनुसार सन् २०१७ मा ४०५.५ पिपिएम रहेको कार्बन डाइअक्साइडको सघनता सन् २०१८ मा ४०७.८ पिपिएम थियो। अघिल्लो दशकको तुलनामा यो वृद्धि वार्षिक औसतभन्दा केही माथि थियो। दुई तिहाइ पृथ्वी तातिनुमा कार्बन डाइअक्साइड जिम्मेवार छ।

Hardik ivf

मिथेन वायुमण्डलमा भेटिने दोस्रो मुख्य हरितगृह ग्याँस हो। डब्ल्युएमओले जनाए अनुसार पृथ्वी तातिनुमा यसको १७ प्रतिशत योगदान छ। मिथेन वस्तुभाउ र धान बाली कुहिएर पनि उत्सर्जन हुन्छ। कृषिजन्यमलबाट उत्पादन हुने नाइट्रस अक्साइडले पृथ्वीको ६ प्रतिशत तापक्रम बढाएको संयुक्त राष्ट्र संघले जनाएको छ।

वायुमण्डलमा मिथेन र नाइट्रस अक्साइड दुवैको सघनता पोहोर साल हालसम्मकै उच्च भएको संयुक्त राष्ट्र संघले जनाएको छ।

“दीर्घकालीन रूपमा यसले निरन्तरता पाउनु भनेको भावी पुस्ताले जलवायु परिवर्तनको गम्भीर प्रभाव सहनु हो। तापक्रम वृद्धिसँगै कठोर मौसम, पानीको अभाव, समुद्र सतहको वृद्धि तथा समुद्री र जमिनको पारिस्थिकीमा बाधा उत्पन्न हुन्छ,” डब्ल्युएमओले भनेको छ। 

हरितगृह ग्याँसको परिमाण निर्धारण गर्ने प्रमुख कारण उत्सर्जन हो। तर वायुमण्डल, बायोस्फेयर, लिथोस्फेयर, क्रायोस्फेयर र समुद्रबीच हुने जटिल अन्तर्क्रियाको श्रृङ्खलापछि जे बाँकी हुन्छ त्यसलाई सघनताको दरले मापन हुन्छ।

सबै उत्सर्जनको करिब २५ प्रतिशत समुद्र र बायोस्फेयरले सोस्छ। पृथ्वीको सबै पारिस्थिकी बायोस्फेयर भनेर बुझ्नुपर्छ। पृथ्वीको ठोस बाहिर भागलाई लिथोस्फेयर भनिन्छ भने क्रायोस्फेयरले संसारको जमेको पानीको भाग बुझाउँछ।

संयुक्त राष्ट्र संघको इन्टरगभर्न्मेन्टल प्यानल अन क्लाइमेट चेञ्ज (आइपिसिसी) ले पृथ्वीको तापक्रम वृद्धिलाई १.५ डिग्रीभन्दा तल राख्नलाई कार्बन डाइअक्साइड उत्सर्जन शुन्यमा हुनुपर्ने बताएको छ। यसको अर्थ वायुमण्डलमा फ्याँकिने परिमाण र वायुमण्डलबाट हटाइने परिमाण बराबर हुनुपर्छ। त्यसमा प्राकृतिक रूपमा सोस्ने वा प्राविधिक नवीनता दुवै उपाय प्रयोग गर्न सकिन्छ।

संयुक्त राष्ट्र संघले तय गरेको लक्ष्य पूरा हुने बाटो संसार अघि नबढे पनि तालसले केही सकारात्मक लक्षणहरू औंल्याएका छन्। “यी मुद्दाहरू यसअघि कहिले यसरी देखिएका थिएनन्,” उनले भने। साथै निजी क्षेत्रले हरित प्रविधिमा लगानी बढाइरहेको पनि बताए। 

अमेरिकामा पनि थुप्रै सकारात्क कार्यहरू भइरहेको तालसले बताए। यो महिनाको सुरूमा डोनाल्ड ट्रम्पको प्रशासनले पेरिस सम्झौताबाट औपचारिक रूपमा पछि हट्ने प्रक्रिया अघि बढाएको छ। वाशिङ्टनले पेरिस सम्झौताका प्रतिबद्धताहरू त्यागे पनि थुप्रै राज्य र शहरहरू सही दिशामा अघि बढिरहेको उनले बताए।

“व्यक्तिगत रूपमा दश वर्ष अघिभन्दा म अहिले आशावादी छु। तर हामीले प्रक्रियालाई तीव्र बनाउनुपर्छ,” तालसले भने।
 

प्रकाशित मिति: ०७:३४ बजे, आइतबार, मंसिर १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्