केन्यामाथि नेपाल ५ विकेटले विजयी
नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले जितका लागि दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रनको योगदान गरे ।
काठमाडौं, भदौ ९ : केन्याविरुद्ध टी २० सिरिजकाे पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको छ। नेपालले ९ वर्षपछि केन्यासँग टी २० खेल खेलेकाे हाे।
नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले जितका लागि दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभर ५ विकेट गुमाउँदै भेट्टायाे । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रनको योगदान गरे । उनले २४ बलमा २ चाैका र १ छक्का प्रहार गरे।
त्यस्तै ज्ञानेन्द्र मल्लले २३ रन बनाउँदा आरिफ शेखले २४ तथा आसिफ शेखले १९ रनको योगदान दिए। बलिङतर्फ केन्याका लागि लुकास ओउच र विराज पटेलले समान दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनायो । केन्याका लागि इर्फान करिमले सर्वाधिक ३४ रनको योगदान गरे । त्यस्तै लुकास ओउचले ३० रन बनाउँदा नेल्सन ओडिम्बेले १९, सचिन बुढाइले १७ रन जोडे ।
केन्यालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि साेमपाल कामीले ३ तथा कप्तान सन्दीप लामिछानेले २ विकेट लिए। साेमपालले ४ ओभरमा २२ रन खर्चंदा सन्दीपले ३३ रन खर्चिए।
मनाेज प्रभाकरले जितका नेपाली टिमकाे मुख्य प्रशिक्षककाे यात्रा थालनी गरेका छन्। स्कटल्यान्ड भ्रमणलगत्तै पुबुदु दासानायकेले राजीनामा दिएपछि क्यानले भारतीय टिम पूर्व अलराउन्डर प्रभाकरलाई मुख्य प्रशिक्षक बनाएकाे थियाे।
केन्या भ्रमणमा रहेकाे नेपाली टिमले ५ खेलकाे टी २० र ३ खेलकाे एकदिसीय सिरिज खेल्नेछ। टि–२० सिरिजका बाँकी ४ खेल भदौ १०, १२, १३ र १४ मा हुने छ भने एकदिवसीय सिरिज भदौ १७, १८ र २० मा हुने छ।
केन्यासँगकाे खेल नेपाली टिमका लागि ब्याटिङ सुधार र टि-२० वरीयता सुधारका लागि राम्राे अवसर हुनेछ। नेपाल याे भ्रमणालाई विश्वकप लिग २ का बाँकी खेलका लागि अभ्यासका रूपममा पनि लिएकाे छ।











