केन्याले नेपाललाई दियो १३१ रनको लक्ष्य
काठमाडौं, भदौ ९ : घरेलु टोली केन्याले टी–ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा नेपाललाई १३१ रनको लक्ष्य दिएको छ ।नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस...
काठमाडौं, भदौ ९ : घरेलु टोली केन्याले टी–ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा नेपाललाई १३१ रनको लक्ष्य दिएको छ ।
नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको हो । केन्याका लागि इर्फान करिमले सर्वाधिक ३४ रनको योगदान गरे ।
त्यस्तै लुकास ओउचले ३० रन बनाउँदा नेल्सन ओडिम्बेले १९, सचिन बुढाइले १७ रन जोडे । बलिङतर्फ नेपालका लागि सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै कप्तान सन्दीप लामिछानेले दुई विकेट लिँदा आदिल अन्सारी र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए ।
सिरिजको दोस्रो खेल भदौ १० गते हुनेछ । नेपाल र केन्याबीच हालसम्म दुई खेल भएको छ । आईसीसी टी–ट्वान्टी विश्वकप छनोटका सन् २०१२ मा यूएईमा भएको खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो ।
यस्तै, सन् २०१४ मा यूएईमा नै भएको खेलमा केन्या विरुद्ध नेपालले ६ विकेटको जित निकालेको थियो ।











