Kathmandu Press

धौवादीको फलाम खानी उत्खनन गर्दा पर्यावरण बिग्रन दिँदैनौँ : मन्त्री बडू

कावासाेती, भदाै ९ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पूर्वी नवलपरासीको धौवादीमा रहेको फलाम खानीमा उत्खनन र प्रशोधन गर्दा यस क्षेत्रको पर्यावरण...
धौवादीको फलाम खानी उत्खनन गर्दा पर्यावरण बिग्रन दिँदैनौँ : मन्त्री बडू

कावासाेती, भदाै ९ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पूर्वी नवलपरासीको धौवादीमा रहेको फलाम खानीमा उत्खनन र प्रशोधन गर्दा यस क्षेत्रको पर्यावरण बिग्रन नदिने बताएका छन।

आज पूर्वी नवलपरासीको हुप्सेकोटमा रहेको धौवादी फलाम खानीको अवलोकन गर्न आइपुग्नुभएका मन्त्री बडूले फलाम खानी आसपासको क्षेत्रको पर्यावरण र स्थानीय बस्तीलाई असर नपर्ने गरी उत्खननको काम अगाडि बढाउने बताएका हुन।

मन्त्री बडूले यस पटकको अनुगमन औपचरिकतामा सीमित नहुने भन्दै थपे, 'पटकपटक धेरै मन्त्रीले अनुगमन गर्नुभयो अब हामी रिजल्ट दिने गरी आएका छौँ, चाँडै नै फलाम खानीमा उत्खनन र प्रशोधनको कामले गति लिन्छ।' धौवादी फलाम कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनकबहादुर चन्दसहित मन्त्री बडु फलाम खानी स्थल पुगेका हुन।

मन्त्री बडूले उत्खनन र प्रशोधनको काममा निजी क्षेत्रको सहकार्य गर्ने गरी छलफल चले पनि निष्र्कषमा पुग्न बाँकी रहेको बताए। उनले प्रशोधन उद्योग खोल्नका लागि उपयुक्त भनिएको पूर्वी नवलपरासीको लोकाहामा रहेको प्रस्तावित औद्योगिक क्षेत्रको निरीक्षण गरे। लोकाहामा गण्डकी प्रदेश सरकारले औद्योगिक क्षेत्र स्थापनाका लागी बजेट छुट्टयाएर काम सुरु गरेको छ।

यस अघि धौवादी फलाम कम्पनी लिमिटेडले आफू मातहतका वरिष्ठ भूगर्भविद्को संलग्नतामा सो क्षेत्रमा गरेको अध्ययनमा कच्चा फलामको भण्डार रहेको देखाएको थियो। खानी तथा भूगर्भ विभागले यसअघि गरेको अध्ययनबाट त्यस फलाम खानीमा १० करोड मेट्रिक टन कच्चा फलामको भण्डार रहेको अनुमान गरेको थियो। सरकारी स्वामित्वमा स्थापित कम्पनीले खानीको भण्डार परिमाणबारे गरेको पछिल्लो अध्ययनले थप पाँच करोड मेट्रिक टन फलाम रहेको अनुमान गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्दले जानकारी दिए।

'आर्थिक वर्ष २०६७/६८ देखि उक्त स्थानमा रहेको खानीको अन्वेषण सुरू गरिएको थियो, अन्वेषणका क्रममा फलामको भण्डारण १० करोड मेट्रिकटन रहेको अनुमान गरेको कम्पनीले अहिले गरेको अन्वेषणले त्यसको परिमाण बढी भएको देखाएको छ।'

देशको सबैभन्दा ठूलो फलाम खानीका रूपमा हेरिएको उक्त फलाम खानी १० किलोमिटर लम्बाइ, १५ देखि ३० मिटर चौडाइ र १०० मिटर गहिराइमा अवस्थित छ। खानीमा छड बनाउन सकिने गुणस्तरको फलाम देखिएकाले त्यसको आधिकारिक पुष्टि गर्न विभागले पाँच टन फलाम गतवर्ष चीन पठाएको थियो। चीनबाट प्राप्त प्रतिवेदनले व्यावसायिक रूपमा फलाम उत्पादन गर्न सकिने पुष्टि गरेको थियो। पूर्वी नवलपरासीको कावासोतीबाट उत्तरतर्फ हुप्सकोट गाउँपालिका–५ मा पर्ने धौवादीमा १० किलोमिटर लामो फलाम खानी (फलामको मात्रा धेरै रहेको पहाड) रहेको छ।

प्रकाशित मिति: १८:४४ बजे, बिहीबार, भदौ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्