Kathmandu Press

काठमाडौंमा व्यवस्थित सहरीकरण हुन नसकेकामा सांसदहरुको चिन्ता

काठमाडाैं, भदाै ९ : राजधानी सहर भएर पनि काठमाडौंमा फोहाेर व्यवस्थापन एवं व्यवस्थित शहरीकरण हुन नसकेकामा सांसदहरुले सरोकार भएका निकायको ध्यानाकर्षण गराएका छन्।राष्ट्रियसभाअन्तर्गतकाे दिगो...
काठमाडौंमा व्यवस्थित सहरीकरण हुन नसकेकामा सांसदहरुको चिन्ता

काठमाडाैं, भदाै ९ : राजधानी सहर भएर पनि काठमाडौंमा फोहाेर व्यवस्थापन एवं व्यवस्थित शहरीकरण हुन नसकेकामा सांसदहरुले सरोकार भएका निकायको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रियसभाअन्तर्गतकाे दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा सांसदहरुले काठमाडौं उपत्यका विकास प्राधिकरणका योजना, कार्यक्रम र उपलब्धिहरु विषयक छलफल कार्यक्रममा एउटै जिम्मेवारी भएका धेरै निकाय भए पनि काम हुन नसकेको बताएका हुन्।

बैठकमा सांसदहरु कमला पन्त, जगप्रसाद शर्मा, नन्दा चपाइँ, कृष्णप्रसाद पौडेललगायतले सहरमा वुद्धिजीवी र प्रतिष्ठित मानिसको बसाइ हुने भए पनि फोहाेर र अव्यवस्थाले गिज्याएकामा सरोकार भएका निकायको ध्यान जानुपर्ने बताए। 

फोहाेर व्यवस्थापनमा बञ्चरेडाँडाको विकल्पसमेत खोजिनुपर्नेमा सांसदहरुले सहरी विकास मन्त्रालयको ध्यानाकर्षण गराएका थिए।

सांसदहरुले उठाएको सरोकारको जवाफ दिँदै सहरी विकास सचिव डा रमेशप्रसाद सिंहले फोहाेर व्यवस्थापनका लागि मन्त्रालयले समन्वयको काम गरिरहेको बताए। राजधानीको जाम व्यवस्थित गर्न बागमती, रुद्रमति, विष्णुमतीलगायत नदी किनारमा बनेको कोरिडोरले सहयोग गरिरहेको उल्लेख गर्दै उनले यस विषयमा काम गर्ने सबै निकायको समन्वयका लागि विधेयक मस्यौदा गरी कानुन मन्त्रालय पठाइएको जानकारी दिए।

प्राधिकरणको उपलब्धिका विषयमा प्रस्तुति गर्दै नायब विकास आयुक्त नवराज प्याकुरेलले सरकारले आर्थिक वर्ष २०६१/६२ को बजेट भाषणमार्फत काठमाडौं उपत्यकामा प्रस्ताव गरिएको ७२ किमी बाहिरी चक्रपथमध्ये ५४.४८ किमीको विस्तृत परियोजना प्रस्ताव तयार भएको जानकारी दिए। सतुंगल खण्डको ६.६ किमीको जग्गा अधिग्रहणका लागि सरकारसमक्ष पेस गरिएको जानकारी पनि उनले गराए।

बैठकमा ट्राफिक प्रहरीको नियन्त्रणमा रहेका करिब एक हजार ५०० सवारी साधनका विषयमा पनि छलफल भएको थियो। यी सवारीसाधनका विषयमा विस्तृत छलफलका लागि आगामी बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बोलाउने निर्णय गरिएको उपस्थितमध्येका ज्येष्ठ सदस्य शारदादेवी भट्टले जानकारी दिए।

गत फागुन २१ गते समिति सभापति तारादेवी भट्टको पदावधि सकिएपछि नेतृत्व चयन हुन सकेको छैन। सभापति चयन नभएपछि बैठकमा उपस्थित सांसदमध्ये ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्दै आएका छन्।

सभापति चयन नहुँदा समितिको काम कारबाहीमा असर गरेको समितिका कर्मचारीको गुनासो छ।

प्रकाशित मिति: १७:३८ बजे, बिहीबार, भदौ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्