Kathmandu Press

हामीलाई अवमूल्यन गर्न खोजिए मुकदर्शक भएर बस्दैनौं : माधव नेपाल 

गठबन्धनको छलफलमा  आफूले सोही अनुसारको कुरा राखेको र गठबन्धनका शीर्ष नेताहरु पनि सकारात्मक भएको उनले बताए। 
हामीलाई अवमूल्यन गर्न खोजिए मुकदर्शक भएर बस्दैनौं : माधव नेपाल 

काठमाडौं, भदौ ९ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई अवमूल्यन गर्न खोजिए मुकदर्शक भएर नबस्ने चेतावनी दिएका छन्। 

पार्टी पुनर्गठन दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी जनताबीच लोकप्रिय र स्थापित हुँदै गएको अवस्थामा कसैले अवमूल्यन गर्न खोजे मुकदर्शक बनेर नबस्ने बताएका हुन्। 

उनले स्थानीय निर्वाचनमा एकीकृत समाजवादीले ९ लाख मत पाएको दाबी गरे । ‘सबै स्थानमा उम्मेदवार उठाइएको भए कम्तिमा पनि १५ देखि २० लाख मत पाउने रहेछौं,’उनले भने,‘गठबन्धनमा त्यही अनुसारको मूल्यांकन हुनुपर्छ।’

अध्यक्ष नेपालले प्रत्येक सांसदका लागि १ लाख मत छुट्याउँदा पनि एकीकृत समाजवादीका २० जना उम्मेदवारले जित्ने बताए । गठबन्धनको छलफलमा  आफूले सोही अनुसारको कुरा राखेको र गठबन्धनका शीर्ष नेताहरु पनि सकारात्मक भएको उनले बताए। 

तर, संघीय निर्वाचनमा गठबन्धनकै भर परेर नबस्न पनि उनले कार्यकर्तालाई निर्देशन दिए । 'समानुपातिकमा गठबन्धन हुँदैन, प्रत्येक जनताको घरघरमा गएर पार्टीको चुनाव चिह्नको प्रचार गराैँ, मतदान गर्न सिकाउनुस्,' कार्यकर्तालाई उनले भने। 

प्रचारप्रसारमा पार्टीले गरेका कामहरुका बारेमा पनि जनतालाई अवगत गराउनुपर्ने उनले बताए । ‘जति काम गरेपनि प्रचार भएन भने नहुँदो रहेछ,’ अध्यक्ष नेपालले भने, ‘हामीले थुप्रै काम गरेका छौं, त्यसबारेमा जनतलाई अवगत गराउन सकेका छैनौं।’

अध्यक्ष नेपालले आगामी संसदीय निर्वाचनबाट एकीकृत समाजवादी थप शक्तिशाली भएर उदाउने दाबी पनि गरे । उनले त्यसका लागि कार्यकर्ताहरुलाई सक्रियताका साथ लागि पर्न निर्देशन दिए । 

पार्टीबाट निर्वाचित भएका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरुले सक्रिय रुपमा जनताको सेवामा लागेको अवस्थामा पार्टी थप लोकप्रिय हुने र यसले पार्टीको शक्ति बढ्ने उनले बताए । 
 

प्रकाशित मिति: १५:२१ बजे, बिहीबार, भदौ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्