विचार मिल्ने कम्युनिस्टहरुबीच एकता आवश्यक : खनाल
काठमाडौं, भदौ ९ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले विचार मिल्ने कम्युनिस्टहरुबीच एकता आवश्यक रहेको बताएका छन्।पार्टी पुर्नगठनको एक वर्ष पुगेको...
काठमाडौं, भदौ ९ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले विचार मिल्ने कम्युनिस्टहरुबीच एकता आवश्यक रहेको बताएका छन्।
पार्टी पुर्नगठनको एक वर्ष पुगेको अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन्। विचार मिल्ने कम्युनिष्टहरुसँग एकता प्रक्रिया अघि बढाएपछि समाजवादको विजयी सुनिश्चित रहेको उनले बताए।
‘पार्टीलाई यो देशको कम्युनिस्ट आन्दोलनको एक मात्र समाजवादी केन्द्रको रुपमा स्थापित गरियो समाजवादको विजयी सुनिश्चित छ, हाम्रो पार्टीको विजय सुनिश्चित छ,’ उनले भने।
कमीकमजोरीबाट सिक्दै दलाल पुँजीवादविरुद्ध एक हुनुपर्ने बताउँदै उनले केपी ओली गुटमा दक्षिणपन्थी अवसरवाद बढ्दै गएको बताए। वैचारिक, राजनीतिक, संसदीय संघर्षको क्षेत्रमा ठुलठुला उपलब्धि प्राप्त गर्ने लक्ष्य लिएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।
नेता खनालले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमाथि भरोसा गर्दा र आफ्नो स्वतन्त्र नीति लिएर अगाडि बढ्न नसक्दा पार्टीले सोचेजस्तो विजयी हासिल गर्न नसकेको बताए। ‘स्थानीय तहको निर्वाचनमा पार्टीले आफ्नो स्वतन्त्र नीति लिएर अगाडि बढ्न नसक्दा तर गठबन्धनमाथि भरोसा गरेर अगाडि बढ्न खोज्दा पार्टीको विकास विस्तार र विजयमा नकारात्मक असर पर्यो।
गठबन्धनकै कारण एकीकृत समाजवादीले आफ्नो यथार्थ जनमत प्रकट गर्न नसकेको बताउँदै उनले उदीयमान क्रान्तिकारी पार्टीले अत्यन्तै होसियार हुनुपर्ने भन्दै उनले नेताकायर्कतालाई सचेत गराए।
‘जनताको इच्छा, आकांक्ष ,भावना र चाहनाअनुसार काम गर्न सकिएन भने पार्टीले अग्रगति लिन सक्दैन,’ उनले भने।











