ओलीलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले भने– निर्वाचन शान्ति पूर्ण हुन्छ, त्यसबारे भ्रम सिर्जना नगर्नुस्
भेटमा प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा गर्न सरकार प्रतिबद्ध रहेको र त्यसबारे भ्रम सिर्जना नगर्न ओलीलाई आग्रह गरेका थिए।
काठमाडाैं, भदाै ८ : प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री देउवाको निमन्त्रणमा ओली बुधबार बिहान भेटवार्ताका लागि बालुवाटार पुगेका थिए।
प्रधानमन्त्रीसँगको भेटमा एमाले अध्यक्ष ओलीले निर्वाचन निष्पक्ष, धाँधलीरहित र विश्वसनीय हुनु पर्नेमा सरकारको ध्यानाकर्षण गराएका थिए। जवाफमा प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा गर्न सरकार प्रतिबद्ध रहेको र त्यसबारे भ्रम सिर्जना नगर्न ओलीलाई आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
करिब २ घण्टा भएको छलफलमा ओलीले नागरिकता विधेयक, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा प्रधानमन्त्री समक्ष कुरा राखेका थिए। यस्तै ओली बढ्दो महँगी नियन्त्रणमा सरकारले भूमिका खेल्न नसकेको प्रति पनि प्रधानमन्त्रीको ध्यानकर्षण गराएको बताइएको छ।
जाफमा प्रधानमन्त्री देउवाले यी विषयमा सरकारले गम्भीर रुपमा लिएको बताए । साथै उनले यो विषयम सत्ता गठबन्धनमा पनि छलफल गर्ने पनि बताएको बताइएको छ।
भेटमा एमाले उपाध्यक्ष सुवास नेम्वाङ र विष्णु पौडेल तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेत सहभागी थिए ।











