Kathmandu Press

सागका लागि सिँगारियो दशरथ रंगशाला 

काठमाडाैं, मंसिर १३ : तेस्रोपटक घरेलु मैदानमा आयोजना हुन लागेको १३ औं दक्षिण एशियाली खेलकूद (साग) तयारीका लागि नेपालको एक मात्र अन्तर्राष्ट्रियस्....

सागका लागि सिँगारियो दशरथ रंगशाला 
साैजन्य: प्रविन कोइराला

काठमाडाैं, मंसिर १३ : तेस्रोपटक घरेलु मैदानमा आयोजना हुन लागेको १३ औं दक्षिण एशियाली खेलकूद (साग) तयारीका लागि नेपालको एक मात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रङ्गशाला बेहुलीझैँ सिँगारिएको छ।

सागको औपचारिक उद्घाटन हुन अब दुई दिन मात्र बाँकी हुँदा भव्य उद्घाट्न गर्न रङ्गशालामा बलेको झिलीमिली बत्तीले वातावरणलाई उत्साहित बनाएको छ। आइतबार औपचारिकरूपमा सागको उद्घाटन हुनेछ। रङ्गशालामा अहिले विभिन्न किसिमका झिलीमिली बत्ती बलेका छन् भने दक्षिण एशियाली राष्ट्र अङ्कित झण्डा टाँगिएका छन्।

विगत केही वर्षयतादेखि छायाँमा परेको दशरश रङ्गशालाले साँच्चिनै ध्यान तानेको छ शहरवासी र खेलप्रेमीको। रङ्गशाला मात्र होइन, राजधानी काठमाडौँ नै अहिले सजिएको छ। खेलकूदका विभिन्न ब्यानर, मस्कट चिह्न, अफिसियल राष्ट्रको चिह्न र नेपालका विभिन्न सांस्कृतिक सम्पदा तथा इतिहास झल्किने गरी राजधानीलाई सजाइएको छ।

सागका लागि काठमाडाैंमा विदेशी खेलाडी तथा अफिसियलको आगमन पनि बढ्दो छ। तेस्रोपटक आयोजनाको मौका पाएको सागमा नेपालले कुनै कमी कमजोरी नराखी तयारीमा जुटेको छ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले दशरथ रङ्गशालामा बाँकी रहेका केही काम आज रातिसम्म सम्पन्न गरिने बताए। “म तपाईंहरुलाई विश्वास दिलाउन चाहन्छु, आज रातिसम्म दशरथ रङ्गशाला तयार हुनेछ”, उनले भने, “अब रङ्गशाला परिसर र खेलस्थलको केही सरसफाइको काम बाँकी छ, त्यो पनि आज रातिसम्म पूरा हुनेछ।” 
 
सागको टिकट व्यवस्था

सागमा हुने खेलका लागि इ–सेवाले अहिले बास्केटबल, फुटबल र भलिबल खेलका टिकट अनलाइनमार्फत बिक्री गरिरहेको छ। सागमा खेल हेर्न चाहने व्यक्तिले सागको इ–सेवाडटकमडटएनपीमा गएर टिकट खरीद गर्न सकिने राखेपले जनाएको छ।

समूह चरण अन्तर्गतको फुटबल खेल हेर्नका लागि दरशरथ रङ्गशलामा भीआइपी प्यारापिटतर्फ एक हजार र साधारण प्यारापिटतर्फ ५००  रूपैयाँ टिकट तोकिएको छ। यता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने क्रिकेट खेलतर्फ भने नेपालको खेल हुँदा ५०० र अन्य देशबीचको खेल हुँदा २०० रूपैयाँ टिकट मूल्य तोकिएको छ।
 
त्यसैगरी सागमा काठमाडौँमा हुने सवारी जामलाई व्यवस्थित गर्नका लागि ठूूला मालबाहक सवारी साधनलाई रिङ्रोडभित्र प्रवेश नगर्न अनुरोध गरिने, दशरथ रङ्गशाला वरिपरिका सवारी मार्गमा एकतर्फी लागू गर्ने, उद्घाटनका दिन रिङरोडभित्र बिजोर र समापनमा जोड नम्बरका सवारी साधनमात्र चलाउन पाउने नियम लागू गरिएको राखेपले जनाएको छ।

त्यस्तै दर्शकका लागि पार्किङस्थल टुँडिखेलमा तोकिएको छ। सो स्थानमा पार्किङ गर्न काठमाडौँ मल अगाडिको ढोका प्रयोग हुनेछ। रङ्गशालाभित्र भने भीभीआइपीको सवारी पार्किङ हुनेछ। रासस
 

प्रकाशित मिति: १७:१० बजे, शुक्रबार, मंसिर १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्