नेता गिरी निष्ठा र आदर्शका धरोहर
सादा जीवन र उच्च विचारका प्रतिमूर्तिका नेता तथा प्रतिनिधिसभा सदस्य गिरीको निधनबाट मुलुकले एक विशिष्ट राजनीतिज्ञ र समाजवादी चिन्तक गुमाएको विभिन्न पार्टीका नेताले बताएका छन्।
जनकपुरधाम, भदौ ७ : नेपाली कांग्रेसको मात्र नभइ अन्य पार्टीका लागि पनि आदर्श नेताको रुपमा थिए प्रदीप गिरी।
नजिकबाट चिनेका नेताहरुले उनलाई सत्य, निष्ठा, चिन्तक तथा विचारकका रूपमा सम्मानपूर्वक लिने गरेका छन्। सादा जीवन र उच्च विचारका प्रतिमूर्तिका नेता तथा प्रतिनिधिसभा सदस्य गिरीको निधनबाट मुलुकले एक विशिष्ट राजनीतिज्ञ र समाजवादी चिन्तक गुमाएको विभिन्न पार्टीका नेताले बताएका छन्।
स्वदेशमा मात्र होइन, अन्तर्राष्ट्रिय जगतमा पनि आफ्नो व्यक्तित्व उजिल्याउन सफल नेता गिरीको निधनबाट आफूहरुले एक साझा अभिभावक गुमाएको नेताहरुको भनाइ छ।
नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री उमेशकुमार यादव नेता गिरीको निधनबाट मुलुकले ठूलो आदर्श र निष्ठाका धरोहर गुमाएको बताउँछन्। ‘आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल जनताका प्रिय, बौद्धिक, समाजवादी चिन्तक नेता गिरीको निधनबाट देशलाई ठूलो क्षति भएको छ', उनी भन्छन्,‘प्रदीप दाईकोे अभाव हामीलाई सधैँ खडकिरहनेछ।'
नेकपा माओवादीलाई शान्ति वार्तामा ल्याउन गिरीले ठूलो भूमिका निर्वाह गर्नुभएको स्मरण गर्दै उनी गिरीको आदर्श, सादा जीवन र उच्च विचारको शैलीलाई सबै दलका नेताले अङ्गिकार गर्नुपर्ने उल्लेख गर्छन्। नेता गिरीको निधनले नेपालको राजनीतिक प्रशिक्षक र समाजवादी चिन्तनमा मूल प्रवाह गर्ने व्यक्ति नै गुमेको सिरहास्थित नेकपा एकीकृत समाजवादी पार्टीका नेता सत्यनारायण यादव बताउँछन्।
'प्रदीप दाई अद्भूत ज्ञानको खानी भएको व्यक्तित्व हुनुहुन्थ्यो', उनी भन्छन् ,'उहाँको नजिक जाँदा मलाई ज्ञानको भण्डार नै आएको आभास हुनाका साथै प्रस्तुत विचार सुन्दा अति प्रभावित हुन्थे।'
प्रदीप दाईले विभिन्न विषयमा प्रशिक्षण दिएजस्तै विचार पस्किरहँदा मन आनन्दित हुने नेता यादवको भनाइ छ। त्याग र समर्पणको भाव भएको नेता गिरीलाई आफूले नेता भन्दा पनि बौद्धिक, तार्किक र दार्शनिक व्यक्तित्वको रुपमा लिएको नेकपा एमालेका राष्ट्रिय परिषद् सदस्य तथा लहान नगरपालिका पूर्वप्रमुख मुनी साहको भनाइ छ।
'प्रदीप दाइको निधनले यस नगरपालिकालाई अपूरणीय क्षति भएको छ', उहाँ भन्छन्, 'प्रदीप दाइ यही नगरपालिकावासी भएको नाताले उहाँ जतिबेला पनि नगरक्षेत्रको विषयमा चिन्तन गर्नुहुन्थ्यो, विकासका लागि नयाँ–नयाँ सोच र सल्लाह दिँदै आउनुभएको थियो।'
मधेसी जनताको हक र अधिकारका लागि प्रष्ट धारणा राख्ने नेताको रुपमा देखिनुभएका नेता गिरीको निधनले मधेस मुक्तिको आन्दोलनमा धक्का लागेको जनता समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष राकेश रोशन गुप्ता बताउँछन्।'मधेश आन्दोलनलाई सफल बनाउन प्रदीप दाइको महत्पूर्ण योगदान थियो', उनी भन्छन्,' संसद्मा बोलेर होस् वा विभिन्न लेख रचनाको माध्यमबाट मधेस र मधेसीको सवालमा नेता गिरीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको थियो, उहाँको योगदान अविस्मरणीय छ।'
लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला इञ्चार्ज राकेश झा प्रदीप गिरी नेता मात्र नभइ सामाजिक चिन्तनको ज्ञानभण्डार भएको प्रतिक्रिया दिन्छन्। 'प्रदीप सर सामाजिक चिन्तक र बौद्धिक व्यक्तित्व हुनुहुन्थ्यो', उनी भन्छन् ,'के कांग्रेस, के कम्युनिष्ट सबै पार्टीका नेतालाई समाजवादबारे उहाँ प्रशिक्षण दिनुहुन्थ्यो, धेरै नेता उहाँबाट समाजवाद पढ्दथे।'
सिरहाको लहान नगरपालिका १४ बस्तीपुर गाउँमा जन्मिएका गिरीको गत शनिबार राति उपचारको क्रममा काठमाडौँमा निधन भएको थियो। आफ्ना पिता मित्रलाल गिरीको प्रेरणाबाट १८ वर्षकै उमेरमा राजनीतिमा होमिनुभएका उनले भारतमा अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गरेका थिए।
नेता गिरीले आफ्नो पुख्र्यौली घर छाडेर बस्तीपुर गाउँ नजिकैको खुट्टी खोला किनारमा आश्रम बनाएर बस्दै आएका थिए। बहुदल आएपछि गिरी पटकपटक सांसद हुनुभए पनि २०५६ मा पराजित भएको थिए।
जनआन्दोलन पश्चात् २०६३ सालको पुनःस्थापित संसद्मा मनोनीत भएका गिरी २०६४ र २०७० मा समानुपातिक सांसद हुनुभयो। गत २०७४ मा उनी सिरहा क्षेत्र नं. १ बाट निर्वाचित भएको थियो।











