संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितलाई थप पीडा दिने खालकाे : खगराज अधिकारी
काठमाडाैं, भदाै ७ : नेकपा एमालेका नेता खगराज अधिकारीले शान्ति प्रक्रिया टुंग्याउन सरकारले ल्याएको विधेयकमाथि एमालेको गम्भीर आपत्ति रहेको बताएका छन्।मंगलबार संसद भवन नयाँ बानेश्वरमा...
काठमाडाैं, भदाै ७ : नेकपा एमालेका नेता खगराज अधिकारीले शान्ति प्रक्रिया टुंग्याउन सरकारले ल्याएको विधेयकमाथि एमालेको गम्भीर आपत्ति रहेको बताएका छन्।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अधिकारीले पीडितहरूको पीडामाथि थप पीडा थप्नेगरी सरकारले टिआरसीसम्बन्धी विधेयक ल्याएको भन्दै यसमा आफूहरुको असहमति रहेको बताएका हुन्।
उनले द्वन्द्व कालीन अवस्थामा गिरफ्तार गरेपछि बलात्कार गर्ने, हत्या गर्ने, हतियारको प्रयोग गर्ने कुरा दुवै पक्षबाट भएकाले यसमा कसैलाई छुट दिन नहुने समेत बताए।
द्वन्द्वरत दुवै पक्षले मानवअधिकारको गम्भीर उलंघन गरेका कुराहरु र विशेष अदालत बनाएर ६ महिनाभित्र महान्याधिवक्ताले सक्ने जस्ता कुराले पीडितहरूलाइ थप पीडा दिने देखिएको उनले बताए।
उनले सर्वोच्च अदालतको निर्णय, अन्तराष्ट्रिय मानवअधिकार सम्बन्धी प्रतिबद्धताहरुलाई ख्याल गर्नुपर्ने समेत बताए।
यसअघि मंगलबार नै बसेको प्रतिनिधिसभा बैठकमा सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग(तेश्रो संशोधन) विधेयक २०७९ प्रस्तुत गरेको छ।











