‘द्वन्द्वका बेला ‘क्रिमिनल जष्टिस् सिष्टम’ ले काम गर्दैन, संक्रमणकालीन न्याय नै चाहिन्छ’
काठमाडौं, भदाै ७ : कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले कुनै पनि मुलुकमा द्वन्द्वका बेला ‘क्रिमिनल जष्टिस सिष्टम’ले काम नगर्ने बताएका...
काठमाडौं, भदाै ७ : कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले कुनै पनि मुलुकमा द्वन्द्वका बेला ‘क्रिमिनल जष्टिस सिष्टम’ले काम नगर्ने बताएका छन्। संसदमा संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टेबुल गर्दै मन्त्री शर्माले ‘क्रिमिनल जष्टिस सिष्टम’ले काम नगर्ने भएकाले सङ्क्रमणकालीन न्याय प्रणाली नै आवश्यक हुने बताए।
उनले संक्रमणकालीन न्याय र अपराधसम्बन्धी न्यायको परिभाषा फरक हुने पनि बताए। ‘सामन्य अपराधमा ‘क्रिमिनल जष्टिस् सिष्टम’ले नै सम्बोधन गर्छ, सत्य, न्याय, परिपुरण र संस्थागत सुधार यी चार पिल्लरको अधारमा सङ्क्रमणकालीन न्याय अघि बढाउनुपर्छ,’ मन्त्री शर्माले भने।
सत्य निरुपण आयोगले द्वन्द्व किन भयो भनी त्यसका कारण र उल्लंघनका घटना पत्ता लगाइसकेपछि केही गम्भीर प्रकृतिका मुद्दा ‘ट्रायल’मा लिएर जाने र अरु मुद्दामा मेलमिलाप गराउने कुरा संसारमै प्रचलनमा रहेको उनले उल्लेख गरे।
यो विषयमा सरकार वा कानुनमन्त्री नचुकेको बताउँदै उनले संसदमा उठेका विषय, शान्ति सम्झौतापछिको छलफल र ती चारै पिल्लरको आधारमा गम्भीर अपराधमा सजाय पनि हुनसक्ने र अन्य कुरा परिपुरण वा मेलमिलापको आधारमा टुङ्ग्याउनुपर्ने बताए।
सांसद सुवालको सातै प्रदेशबाट ल्याइएको छलफलको प्रतिवेदन सार्वजनिक नभएको भन्ने जिज्ञासाका सन्दर्भमा मन्त्री कोइरालाले केन्द्रस्तरमा कार्यक्रम गरेरै सार्वजनिक गरिएको जानकारी गराए।











