लिभरपुलमाथि युनाइटेडको जित

काठमाडाैं, भदाै ७ : प्रिमियर लिगको सुरुआती दुई खेलमा पराजित भएको म्यान्चेस्टर युनाइटेडले तेस्रो खेलमा भने जित निकालेको छ। लिगमा पहिलो जित निकाल्ने क्रममा सोमबार राति घरेलु मैदानमा युनाइटेडले बलियो लिभरपुलमाथि २–१को जित निकाल्यो।
सुरुआती दुई खेलमा निराजनक प्रदर्शन गरेको युनाइटेडले सोमबार राति लिभरपुलविरुद्ध भने निकै उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । सुरुआती लाइनअप केही परिवर्तन सहित मैदान उभित्रएको युनाइटेडले १६औं मिनेटमा जडोन सान्चोको गोलमा अग्रता लियो।
यो गोल सान्चो र युनाइटेड दुवैका लागि महत्वपूर्ण रह्यो। दुवैले गरेको यो सिजनको पहिलो गोल थियो। अघिल्लो सिजन ८० मिलियन युरोमा बोरुसिया डर्टमन्डका युनाइटेड आएका सान्चो निरासाजनक प्रदर्शनपछि आलोचित थियो । याे गाेलले दुवैलाई राहत दियाे।
पहिलो हाफमा १ गोल गरेको युनाइटेडले दोस्रो हाफको सुरुआतमै अग्रता दोब्बर बनायो। ५३औं मिनेटमा मार्कस सास्फोर्डले काउन्टरमा गोल गरेका थिए। ८२औं मिनेटमा मोहम्मद सलाहले गोल गरेपछि टिमलाई जित दिलाउन सकेनन्।
सिरिजको सुरुआतदेखि नै लिभरपुल समस्यामा देखिएको छ। लगातार तीन खेलमा जित निकाल्न असफल भएको लिभरपुललाई खेलाडीको चोटले सताएको छ, त्यसको असर खेलमा देखिएको छ। उसका पहिलो रोजाइका ८ खेलाडी घाइते छन्।
लिभरपुल सुरुआती तीन खेलमा जित निकाल्न असफल भएको सन् २०१२–१३ पछि पहिलो पटक हो।
जितसँगै युनाइटेड ३ खेलमा ३ अंक जोड्दै १४औं स्थानमा छ भने लिभरपुल ३ खेलमा २ अंकसाथ १६औं स्थानमा रहेको छ।











