निर्वाचनलगत्तै माओवादी-समाजवादी एकता हुन्छ: खनाल
रामपुर, भदौ ७ : नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले समाजवादी र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता हुने बताएका छन्।एकीकृत...
रामपुर, भदौ ७ : नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले समाजवादी र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता हुने बताएका छन्।
एकीकृत समाजवादीले तानसेनमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले तत्काल कार्यगत एकता गरेर निर्वाचनमा जाने र आगामी मङ्सिरमा हुने निर्वाचनलगत्तै पार्टी एकता हुने बताए।
नीति, सिद्धान्त र विचारका हिसाबले माओवादी र एकीकृत समाजवादीको सम्बन्ध निकटतम रहेकाले माओवादी केन्द्रसँग छिट्टै पार्टी एकता हुन लागेको नेता खनालको भनाइ थियो। नेपालमा एक सबल कम्युनिष्ट पार्टी निर्माणका लागि अन्य साना कम्युनिष्ट पार्टीहरूसँग समेत एकीकरणको खाँचो रहेको उनले बताए।
मङ्सिरमा हुने निर्वाचनमा गठबन्धनका तर्फबाट सिट बाँडफाँडका लागि कार्यदल बनेको र केही दिनमा त्यसले निचोड दिने बताउँदै पूर्वप्रधानमन्त्री खनालले पाँचदलीय गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने बताए।
कम्युनिष्ट पार्टीलाई जनताले विश्वास गरेर दुई तिहाइको बहुमत दिएको स्मरण गर्दै उनले जनभावनाअनुसार काम नहुँदा अहिले कम्युनिष्टभित्रै फरक खालको राजनीतिक परिस्थिति सिर्जना भएको बताए।











