लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि भन्न गठबन्धन डराएकाे छ : ओली
काठमाडाैं, भदाै ६ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले गठबन्धनमा रहेका दलहरु लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भनेर बोल्न डराएको बताएका...
काठमाडाैं, भदाै ६ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले गठबन्धनमा रहेका दलहरु लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भनेर बोल्न डराएको बताएका छन्।
एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीद्वारा सोमबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भन्दा भारतलाई पनि मन नपरेको भन्दै गठबन्धनमा रहेका दलहरु पनि नेपालको भूमि आफ्नै हो भनेर भन्न डराएको बताएका हुन्।
भारत भ्रमणमा जादा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको भूमिका बारेमा समेत बोल्ने हिम्मत नदेखाएको उनले बताए। ओलीले देउवा र प्रचण्डलाई भारत भ्रमणमा बोलाए पनि माधव नेपाललाई भारतले नबाेलाएर छटपटी भएको तर्क गरे।
अध्यक्ष ओलीले प्रतिष्पर्धात्मक बहुदलीय व्यवस्थाप्रति पनि गठबन्धन प्रतिष्पर्धाको राजनीतिक नभएर राजनीतिलाई दुश्मनीको विषय बनाएको धारणा राखे। उनले एमसिसीबारे गठबन्धनमा रहेका दलहरुले दोहोरो चरित्र देखाएको र नागरिकता विधेयकमा पनि राष्ट्रपतिले दिएको सुझाव नमानी जस्ताको तस्तै पास गरेको भन्दै आपत्ति जनाए।
ओलीले शान्तिप्रक्रिया टुङ्ग्याउने भन्दै पीडितहरुलाई रुवाउने काम गठबन्धन सरकारले गरेको भन्दै जनयुद्ध पिडितको गोली निकाल्ने काम एमालेले गर्ने जिकिर गरे।
ओलीले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने भनिए पनि प्रचण्डले कम्युनिष्ट पार्टीलाई कांग्रेस समक्ष बुझाएको आरोप लगाए। कार्यक्रममा पूर्वमन्त्री दानबहादुर चौधरीलगायतका अन्य दलका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए।











