Kathmandu Press

निर्वाचनमा विदेशी गाडी प्रयोग गर्न नदिने, १० भन्दा बढी राष्ट्रिय झन्डा प्रयोग गर्न नपाइने

निर्वाचन आयोगले आज (सोमबार) राजनीतिक दलहरूसँग गरेको छलफलमा ती विषय प्रस्तावका रुपमा राखेको हो।
निर्वाचनमा विदेशी गाडी प्रयोग गर्न नदिने, १० भन्दा बढी राष्ट्रिय झन्डा प्रयोग गर्न नपाइने

काठमाडौं, भदौ ६ : निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न नदिने भएको छ।

आयोगले आज (सोमबार) राजनीतिक दलहरूसँग गरेको छलफलमा सो विषय प्रस्तावका रुपमा राखेको हो। निर्वाचन आचारसंहितामा चुनाव प्रचारमा विदेशी नम्बर प्लेटका सवारीसाधनलाई अनुमति नदिने प्रस्तावमा उल्लेख छ।

‘बढीमा दुईवटा दुई पाङ्ग्रे, वा तीनपाङ्ग्रे वा चार पाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन र त्यस्ता सवारी नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्न सकिने छ तर विदेशी नम्बर प्लेटको सवारी साधनलाई त्यस्तो अनुमति दिइने छैन,’ प्रस्तावित आचारसंहितामा उल्लेख छ।

खासगरी भारतीय सीमासँग जोडिएका प्रदेश १, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका जिल्लाको चुनावलाई लक्षित गरी आयोगले सो प्रस्ताव ल्याएको हो। ती क्षेत्रमा यसअघिका निर्वाचनहरूमा पनि सीमावर्ती जिल्लाहरुमा भारतबाट सस्तोमा गाडी भाडामा लिएर चुनावमा प्रयोग हुने गरेको छ।

दल वा उम्मेदवारले अनुमति लिएको सवारीसाधन प्रयोग गरी मतदाता ओसारपसार गर्न नपाइने प्रस्ताव पनि आचारसंहितामा उल्लेख छ।

त्यस्तै आयोगले दल वा उम्मेदवारले बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने प्रस्ताव गरेको छ। प्रस्तावित आचारसंहितामा भनिएको छ, ‘दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्‍याली गर्दा बढीमा १० वटा राष्ट्रिय झन्डा प्रयोग गर्नबाहेक निर्वाचन प्रचारप्रसार गर्दा राष्ट्रिय झण्डा प्रयोग गर्न गराउन नहुने।’

यसअघिका निर्वाचनमा भने राष्ट्रिय झण्डाबारे केही उल्लेख गरिएको थिएन। 

प्रकाशित मिति: १५:१७ बजे, सोमबार, भदौ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्