प्रचण्ड र नेपालबीच भेटवार्ता, पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति
बैठकमा आगामी प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि हुने निर्वाचनमा एउटै चुनावी घोषणापत्र लिएर जानसमेत दुवै दल सहमत भएको र त्यसका लागि आवश्यक छलफल गर्दै जाने निष्कर्ष निकालिएको बताइएको छ।
काठमाडौं, भदौ ६ : नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
प्रचण्डको एक नातेदारको हात्तीवनस्थित घरमा भएको भेटमा पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति भएको स्रोतले जनाएको छ।
यसअघि एकीकृत समाजवादीले पार्टीको सचिवालय बैठकमा माओवादी केन्द्रसँगको एकताका लागि गृहकार्य गर्ने र एकता समायोजन समिति बनाउने गरी अघि बढ्ने निर्णय गरेको थियो। सो निर्णय गरेपछि माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पहिलोपटक वार्ता भएको हो।
भेटवार्तामा आगामी मंसिर ४ गते हुने निर्वाचनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा समेत छलफल भएको जनाइएको छ। आज गठबन्धनको बैठक हुनुअघि भएको उनीहरूको भेटमा आफ्नो पार्टीले दाबी गर्ने सिट र चुनाव लड्ने नेताहरुबारे पनि छलफल भएको माओवादी केन्द्रनिकट एक नेताले बताए।
बैठकमा आगामी प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि हुने निर्वाचनमा एउटै चुनावी घोषणापत्र लिएर जानसमेत दुवै दल सहमत भएको र त्यसका लागि आवश्यक छलफल गर्दै जाने निष्कर्ष निकालिएको बताइएको छ।