Kathmandu Press

नेपाल–बेलायत श्रम समझदारीमा हस्ताक्षर, नेपाली नर्स बेलायत जाने बाटो खुल्यो

समझदारीअनुसार नेपालका स्वास्थ्य क्षेत्रका जनशक्तिले बेलायतमा रोजगारीका अवसर प्राप्त गर्नेछन्।
नेपाल–बेलायत श्रम समझदारीमा हस्ताक्षर, नेपाली नर्स बेलायत जाने बाटो खुल्यो

काठमाडाैं, भदाै ६ : नेपालबाट बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सो समझदारीपत्रमा हस्ताक्षर गरे। 

बेलायत र नेपाल सरकारबीच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई रोजगारी प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको हाे। समझदारीअनुसार नेपालका स्वास्थ्य क्षेत्रका जनशक्तिले बेलायतमा रोजगारीका अवसर प्राप्त गर्नेछन्।

रोजगारीका लागि बेलायत जाने श्रमिकले कुनै पनि शुल्क तिर्नुपर्ने छैन। उनीहरुले पाँच वर्षका लागि बेलायतमा काम गर्न पाउनेछन्। 

समझदारीबाट नेपाली स्वास्थ्यकर्मीहरुलाई विधिसम्मत तवरले बेलायतको स्वास्थ्य क्षेत्रको रोजगारीमा सहज संलग्नताको वातावरण तयार हुने र जनशक्तिको बिकास समेत मद्धत पुग्ने मन्त्रालयले जनाएको छ।

बेलायतमा स्वास्थ्य सेवामा कार्यरत रहँदा नेपाली स्वास्थ्यकर्मीको सेवा सुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मीसरह हुने व्यवस्था मिलाइएको छ।

नेपाली स्वास्थ्यकर्मी छनौट, पदस्थापन, सेवा सुविधा सम्बन्धी मापदण्ड हाल छलफलमा रहेको र यससम्बन्धी सवै व्यवस्था जिटुजी प्रक्रिया बमोजिम हुने सचिव अर्यालले बताए।

परिक्षणको पहिलो चरणमा नेपाली नर्सहरुलाई बेलायतमा पदस्थापन गर्ने कार्यलाई इम्प्लिमेन्टेन्सनको प्रोटोकल स्पष्ट व्यवस्था गरिने र नियुक्ती प्रक्रियाका कुनै शुल्क नलाग्ने एवं रोजगारीका लागि छनौट भएकाहरुको लागतको शोधभर्ना समेत हुने सचिव अर्यालले बताए।

त्यस्तै नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले नेपाली स्वास्थ्यकर्मीहरुलाई बेलायतमा रोजगारी दिन पाउनु खुसीको कुरा भएको भन्दै आगामी दिनमा स्वास्थ्य क्षेत्रको निरन्तर सुदृढिकरण र आधुनिकिकरणमा सहयोग जारी रहने बताए।

बेलायत सरकारले बेलायतको नेसनल हेल्थ सर्भिसेसअन्तरगतका स्वास्थ्य संस्थाहरूमा काम गर्न १० हजार नेपाली नर्सिङ जनशक्तिको माग गरेको छ। तर पहिलो चरणमा परिक्षणका रुपमा केही संख्यामा मात्रै नर्सहरु पठाइने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १३:४० बजे, सोमबार, भदौ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्