सांसद गिरिको निधनमा दुवै सदनमा शोक प्रस्ताव
काठमाडौं, भदौ ६ : आज संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दै छ।प्रतिनिधि सभाको बैठक आज मध्याह्न १ बजे बोलाइएको...
काठमाडौं, भदौ ६ : आज संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दै छ।
प्रतिनिधि सभाको बैठक आज मध्याह्न १ बजे बोलाइएको छ। त्यस्तै, राष्ट्रिय सभाको बैठक मध्याह्न १२ः५९ बजे बोलाइएको छ।
संसद्का दुवै सदनको बैठकमा कांग्रेस नेता एवं सांसद प्रदीप गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शोक प्रस्ताव प्रस्तुत गर्ने भएका छन्।
सांसद गिरिको भदौ ४ गते राति ९ः३० बजे ७५ वर्षको उमेरमा निधन भएको हो। उनको आइतबार पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको थियो।
यसअघि आज प्रतिनिधिसभामा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पेश गर्ने कार्यसूची रहेको थियो। त्यस्तै, राष्ट्रिय सभामा राष्ट्रपतिबाट फिर्ता पठाइएको नागरिकतासम्बन्धी विधेयक पेश गर्ने तयारी गरिएको थियो।
सांसद गिरिको निधनपछि दुवै सदनको कार्यसूची फेरबदल गरिएको हो। आज दुवै सदन शोक प्रस्ताव पारित गरेर स्थगित हुनेछन्।











