तीन बुँदे सहमतिपछि निकारिकाले तोडिन् अनशन
काठमाडौं, भदौ ६ : सरकारसँग तीन बुँदे सहमतिपछि निहारिका राजपुतले १७ दिनपछि अनशन तोडेकी छन्।कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाको उपस्थितिमा काठमाण्डौका...
काठमाडौं, भदौ ६ : सरकारसँग तीन बुँदे सहमतिपछि निहारिका राजपुतले १७ दिनपछि अनशन तोडेकी छन्।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाको उपस्थितिमा काठमाण्डौका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसँग तीन बुँदे सहमति गर्दै राजपुतले अनशन तोडेकी हुन्। तीन बुँदे सहमतिमा उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दाको डीएनए परीक्षण गर्न अदालतसमक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गर्ने, डीएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने र उनले अनशन तोड्ने उल्लेख छ।
शिवराज श्रेष्ठले आफूमाथि धनुषामा जबरजस्ती करणी गरेको र त्यसबाट बच्चा जन्मिएको उनले बताउँदै आएकी छन्। त्यसका लागि आरोपित र बच्चाको डीएनए परीक्षण गर्नुपर्ने माग राखेर उनी जेठ २९ गतेदेखि काठमाडौंमा अनशन बस्दै आएकी थिइन्।
यसअघि उनले राष्ट्रपति भवन शीतलनिवास अगाडि आत्मदाहतको प्रयास पनि गरेकी थिइन्। त्यसयता उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।
उनले शिवराजविरुद्ध कारबाहीको माग गरी जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दिएकी थिइन्। जसमा अदालतले शिवराजलाई सफाइ दिएको थियो।
उनी काठमाडौं आएर अनशन बस्न थालेपछि उनको मुद्दामा फैसला गर्ने न्यायाधीश परशुराम भट्टराईलाई सर्वोच्च अदालतले फिर्ता बोलाएको थियो।











