Kathmandu Press

नेता गिरिको निधनले शोकमा डुब्यो बस्तीपुर

लहान, भदौ ५ 'आब ककरा बाबु कहबै, के कर साहारामे रहबै' (अब कसलाई बुबा भन्नु रु कसको साहारमा बाँच्नु?' लहान नगरपालिका–१४ बस्तीपुरका जितनीदेवी रामले...
नेता गिरिको निधनले शोकमा डुब्यो बस्तीपुर
नेता प्रदीप गिरीको सिरहाको लहानमा रहेको पुर्ख्याैली घर। तस्बिर : अरूणकुमार यादव/रासस

लहान, भदौ ५ : 'आब ककरा बाबु कहबै, के कर साहारामे रहबै' (अब कसलाई बुबा भन्नु? कसको सहारामा बाँच्नु?) लहान नगरपालिका–१४ बस्तीपुरका जितनीदेवी रामले रोइकराइ गरेपछि उपस्थित गाउँलेहरुले पनि आँसु थाम्न सकेनन्। 

समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनको खबर सुनेलगत्तै विक्षिप्त बनेकी जितनीदेवीको आँशु रोकिएको छैन। 'आफूलाई छोरी जस्तै बाल्यकालबाटै पाल्नुभएका प्रदीप बाबु छोडेर गएपछि टुहुरी जस्तै भएकी छु', जितनीदेवीले भनिन्, 'अब कसलाई बुवा भन्नेर बोलाउने रु समस्या पर्दा कसलाई सुनाउने? अब कोही रहेन, बेसाहराजस्तै भएकी छु।'

भारतको नयाँ दिल्लीमा उपचार गराउन जाने क्रममा उनले जितनी म उताबाट आएपछि तिम्रो सबै समस्या सुनिदिन्छु भनेर गएको सम्झँदै जितनीदेवीले भनिन्, 'आश्वासन दिएर जानुभएको प्रदीप बाबु अब मेरो समस्या कहिले नसुन्ने गरी सदाका लागि जानुभयो। अब मेरो समस्या सुनिदिने कोही रहेन, आफू टुहुरी जस्तै भएकी छु।' 

'कुनैबेला पेसाको समस्या पर्दा प्रदीप बाबुले कहिले मसँग छैन, दिन्न भन्नुभएन', जितनीले भनिन्, 'उहाँ कतैबाट आश्रममा आउँदा पहिला जितनी भन्नेर बोलाउनुहुन्थ्यो, मैले ल्याइदिएको पानी खानुहुन्थ्यो त्यसपछि मेरो समस्याबारे सोध्नु हुन्थ्यो।' अब ती सबै कुराहरु सम्झनामा आइरहने उनले बताइन्। 

जहिले पनि पढ्नुपर्छ, दलितहरु पनि ठूलो मान्छे बन्नुपर्छ भन्ने प्ररेणा दिने व्यक्तिका रुपमा रहनुभएका प्रदीप ठूलो बुवाको निधनले आफूले अभिभावक गुमाएको स्थानीय २० वर्षीय दीप परियार पनि शोकमा छन्। 

'आश्रममा जहिले आउँदा मेरो पढाइका बारेमा सोध्नुहुन्थ्यो, अनि पढ्ने नयाँनयाँ कुरा सिकाउनुहुन्थ्यो', लहानस्थित जेएस मुरारका क्याम्पसको कक्षा १२ मा अध्ययनरत परियारले भने, 'उहाँको प्रेरणाका कारण मेरो पढ्ने, वातावरण बन्यो मेरो पढाइमा उहाँको ठूलो योगदान छ।' अब उहाँ जस्तो व्यक्तित्व पाउन मुस्किल रहेको उनको भनाइ थियो। 

'प्रदीप बाबु असाध्यै सरल, भावुक स्वभावका व्यक्ति हुनुहुन्थ्यो', बस्तीपुर गाउँका ५० वर्षीय चेतबहादुर भुजेलले भने, 'उहाँ गाउँको मात्र होइन, देशकै प्रतिष्ठा थियो, उहाँको निधनले हामी अभिभावकविहीन भएका छौँ, उहाँको निधनले हामी शोकाकूल भएका छौँ, हामी असल र स्वाभिमानी नेता गुमाएका छौँ', उनको कथन छ।

जितनी, दीप र चेतबहादुर मात्र होइन, नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सदस्य प्रदीप गिरिको निधन भएपछि यतिबेला बस्ती गाउँ नै शोकमा डुबेको छ। गाउँलेहरु नेता गिरिको पुर्खौली घर अगाडि भेला भएर शोक मनाइरहेका छन् भने कतिपयले गिरिलाई सम्झेर आँशु बगाइरहेका छन्। 

'सरल स्वभावका प्रदीप बाबुसँग चुनावका बेला सँगै घुमेँ', बस्तीपुरका ५६ वर्षीय महेन्द्र साहले भन्नुभयो, 'उनले जहिले पनि गाउँको विकास र समाज सुधारका विषयमा कुरा गर्नुहुन्थ्यो, उहाँबाट समाजले थुपै्र सुधारको अनुभूति गरेको छ। उहाँसँग हिँड्दा कहिले पनि बिरानो जस्तो अनुभूति पाइनन्', उनको भनाइ छ। 

यसैबीच नेता गिरिले कक्षा १ देखि १० सम्म अध्ययन गर्नुभएको बस्तीपुर माविमा पनि आज व्यक्त गरिएको छ। 'उहाँ यस विद्यालयमा अध्ययन गर्नुका साथै विद्यालयको विकासका लागि योगदान गर्नुभएको छ', विद्यालयका लेखापाल सिन्धुप्रसाद साहले भने, 'उहाँ यस विद्यालयका पूर्वविद्यार्थीका साथै अभिभावक पनि हुनुहुन्थ्यो, त्यही भएर हामी उहाँको शोक
मनाएका छौँ।'

समाजवादी नेता गिरिले २०१८ मा बस्तीपुर माविबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए। उनी गत २०७४ सालमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए। नेता गिरिको शोकमा सिरहाको लहान नगरपालिकाले पनि आज सार्वजनिक बिदा दिएको छ। 

नगरपालिकाले अशल अभिभावक गुमाएकाले शोकमा बिदा दिने निर्णय भएको नगरप्रमुख महेश चौधरीले बताए। आफूहरुले मत दिएर जिताएका आफ्ना नेता एवं अभिभावक गिरिको उपचार काठामाडौँस्थित मेडिसिटी अस्पतालमा भइरहँदा पनि शीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्थानीयले शनिबार बिहानैदेखि गाउँमा भजनकीर्तन गरेका थिए। शनिबार राति नै उहाँको निधन भएको खबर सुनेपछि उहाँको जन्मस्थल र जिल्लाका स्थानीय शोकमग्न भएका छन्।

प्रकाशित मिति: १५:३४ बजे, आइतबार, भदौ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्