Kathmandu Press

मानव अधिकारवादीले समाजवादी चिन्तक प्रदीप गिरीलाई कसरी सम्झे?

काठमाडौं, भदौ ५ : समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरी देश, पार्टी र सत्ताको सीमाभन्दा माथि उठेको व्यक्तित्वका रुपमा सम्झनुहुन्छ पूर्व सभामुख...
मानव अधिकारवादीले समाजवादी चिन्तक प्रदीप गिरीलाई कसरी सम्झे?

काठमाडौं, भदौ ५ : समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरी देश, पार्टी र सत्ताको सीमाभन्दा माथि उठेको व्यक्तित्वका रुपमा सम्झन्छन् पूर्वसभामुख एवं मानव अधिकारवादी नेता दमननाथ ढुंगाना। प्रखर विचारक र वक्ताका रुपमा स्थापित गिरी देशका सच्चा समाजवादी भएको उनी बताउँछन्। 

स्वतन्त्रताबाट नै समाजवादको विकास गर्न सकिन्छ भन्ने सोचबाट प्रतिबद्ध आजीवन योद्धाका रुपमा गिरी स्थापित भएको ढुंगानाले सम्झे। गिरीले नेपाल मानव अधिकार सङ्गठनको संस्थापक महासचिवका रुपमासमेत काम गरेका थिए।

पञ्चायतकालमा मानव अधिकारको धेरै उल्लंघन हुन थालेपछि अधिकारको संरक्षण र प्रजातन्त्र पुनःस्थापनाका लागि सङ्गठनको स्थापना भएको मानव अधिकारवादी नेता कपिल श्रेष्ठ बताउँछन्। गिरीले मानव अधिकार आन्दोलनमा ऋषिकेश शाहलाई पनि ल्याउनुभएको उनले स्मरण गरे। 
 
'विसं २०४२ को सत्याग्रहको असफलतापछि परम्परागत तरिकाले नेपालमा प्रजातन्त्रको पुनःस्थापना हुन सक्दैन भन्ने निष्कर्ष गिरीले निकाल्नुभएको थियो, वामपन्थीसँग पनि मिलेर प्रजातन्त्र पुनःस्थापनाका लागि जनआन्दोलन गर्नुपर्छ भन्ने दबाब तत्कालीन कांग्रेस पार्टी नेतृत्वलाई गिरीलगायतका नेताले दिनुभयो', श्रेष्ठले भने। मार्क्सवाद र समाजवादका बारेमा समानान्तर रुपमा अध्ययन गर्ने गिरीजत्तिको नेता नेपालमा नभएको उनले सुनाए।

भारतमै पनि यी दुवै विषयलाई उत्तिकै अध्ययन गर्ने मानिस पनि कमै छन् । गिरी कुनै ठाउँमा एक महिनामात्र बस्नुभयो भनेपनि कोठाभर पुस्तक जम्मा भइसक्थ्यो । केही समयमै उहाँ आफू बसेको स्थानमा पुस्तकालय बनाउँथे। यसबाट गिरीको अध्ययनशीलता बुझ्न सकिन्छ।

सबैसँग राम्रो र मिठो बोल्ने गिरी स्वभावमा भने अराजक थिए। बहुमुखी प्रतिभाशाली व्यक्तित्वका धनी गिरी प्रजातान्त्रिक समाजवादका बारेमा बिपी कोइरालापछिका चिन्तक हुनुभएको सुनाउँछन् श्रेष्ठ।

महात्मागान्धीको अहिंसावादी प्रेरणाबाट प्रेरित गिरी पूर्वीय दर्शनबाट प्रभावित थिए। अध्यात्मको गहिरो ज्ञान पनि उहाँमा थियो । विसं २०४५ मा नेपाल मानव अधिकार सङ्गठनको स्थापना भएदेखि नै चिन्तक गिरीसँग सहकार्य गरेका मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी चिन्तनसँगै आफ्नो तर्क पनि प्रस्तुत गर्ने व्यक्तित्वका रुपमा गिरीलाई सम्झन्छन्। विशिष्ट चिन्तक गिरीका तर्क बलशाली हुन्थे। 

नेपालमा विसं २०६३ वैशाख ११ गते रातिको परिवर्तनपछि काठमाडौँ उपत्यकामा विजयसभा नगर्ने सहमति सात राजनीतिक दलका नेताले गरेका रहेछन्। यो विषयलाई पहाडीले आफ्नो पुस्तक ‘प्रसंग एक : सन्दर्भ अनेक’ मा पनि उल्लेख गरेका छन्।

२०६३ वैशाखमा लोकतन्त्र प्राप्तिको खुसीयालीमा दलले कुनै सभा आयोजना नगरेपछि नागरिक समाजका तर्फबाट गरिएको सभामा कांग्रेस नेता गिरी र गगन थापा भने सहभागी भएको उनले सुनाए। सभा राति ढिलासम्म आयोजना भएको थियो। 

भर्खरै राजनीतिक परिवर्तन भए पनि आशङ्काका घेरा बाँकी रहेकाले छिटो कार्यक्रम सक्नुपर्छ भन्दै गिरीले दिएको सुझाव परिपक्व चिन्तनको प्रतीक भएको मानव अधिकारवादी नेता पहाडीले सम्झे। विसं २०६४ मा भारतमा गान्धीजयन्तीको शतवार्षिकी समारोहका रुपमा ‘सत्याग्रह शताब्दी अन्तर्राष्ट्रिय समागम’ आयोजना गरिएको थियो । त्यो कार्यक्रममा पनि लामो समय गिरीसँगै यात्रा गर्नुभएका मानव अधिकारवादी नेता पहाडी उनीजस्तो चिन्तक अब पाउन गाह्रो हुने बताउँछन् ।
 
राजनीति पद र पैसामा बिकेर दुर्गन्धित बनेका बेला एक जना आदर्शवादी राजनीतिक चिन्तकका रुपमा आफूले गिरीलाई स्मरण गर्ने मानव अधिकारवादी नेता श्याम श्रेष्ठ बताउँछन्। गिरीले बिपी कोइरालालाई माक्र्सवाद पढाउन ‘लेनिन’ पुस्तक लेख्नुभएको उनले स्मरण गरे। 'गिरीलाई ज्ञानको विश्वकोश भन्न सकिन्छ, दक्षिण एसियामै आदर्श राजनीतिज्ञको परिचय बनाउन उहाँ सफल हुनुभएको छ, आदर्श राजनीतिक चिन्तकका रुपमा उहाँको सधैँ सम्झना हुनेछ,' मानव अधिकारवादी श्रेष्ठले भने। 

लोकतान्त्रिक मूल्य, मान्यता र बहुलवादी खुला समाजका प्रखर चिन्तकका रुपमा गिरीलाई सम्झनुहुन्छ मानव अधिकारवादी नेता सुबोध प्याकुरेल। सिराहाको बस्तीपुरको ग्रामीण भेगमा जन्मिएर समाजवादी चिन्तनलाई व्यक्तिगत राजनीतिक जीवनमा उनले रुपान्तरण गर्न सफल हुनुभएको पनि उनले सुनाए।

प्रकाशित मिति: १४:१६ बजे, आइतबार, भदौ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्