Kathmandu Press

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएका छन्।पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १०ः३० बजे बस्ने...
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
फाइल तस्वीर

काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १०ः३० बजे बस्ने बैठकमा पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ। समाजवादी चिन्तक गिरिको ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति ९ः३० बजे निधन भएको हो।

नेता गिरिको पार्थिव शरीरलाई आज बिहान ९ देखि ११ बजेसम्म मेडिसिटी अस्पताल प्राङ्गणमा रहेको शिवालय मन्दिरमा श्रद्धाञ्जलिका लागि राखिने र बिहान ११ः३० बजेदेखि दिउँसो २ बजेसम्म कांग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यसपछि उनको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। विगत लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि उनलाई गत साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।

नेपालको समकालीन राजनीतिका एक प्रखर विचारक नेता गिरी विसं २०२१ पछि राजनीतिमा सक्रिय भएका थिए। हाल प्रतिनिधिसभा सदस्य रहेका उनी विसं २०२४ मा वनारसमा नेपाल छात्र सङ्घमा निर्वाचित भएका थिए।

उनी विसं २०५१ को संसदीय निर्वाचनमा सिरहा ५ बाट निर्वाचित हुनुका साथै संविधानसभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भई संविधान निर्माणको जिम्मेवारीमा संलग्न थिए। यसैगरी दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा पनि कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भएका थिए।

नेता गिरि प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सिरहा–१ बाट निर्वाचित भएका हुन्। विसं २००४ मा सिरहाको वस्तीपुरमा पिता मित्रलाल गिरी र आमा पुण्यप्रभा गिरीका सुपुत्रका रूपमा जन्मिएका गिरि सबैमाझ लोकप्रिय छन्।

प्रकाशित मिति: ०९:०४ बजे, आइतबार, भदौ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्