प्रचण्डकाे प्रस्ताव पारित : वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ, उपाध्यक्षमा महरा, महासचिवमा गुरूङ
पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आज (शनिबार) बसेको पार्टी स्थायी कमिटी बैठकमा प्रस्तावित नाम सर्वसम्मत रुपमा पारित भएको प्रचण्डकोे सचिवालयले जनाएको छ।
काठमाडाैं, भदाै ४ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको पार्टी पदाधिकारीको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आज (शनिबार) बसेको पार्टी स्थायी कमिटी बैठकमा प्रस्तावित नाम सर्वसम्मत रुपमा पारित भएको प्रचण्डकोे सचिवालयले जनाएको छ।
पार्टीको राष्ट्रिय महाधिवेशन र गत केन्द्रीय समितिद्वारा प्रत्यायोजित अधिकार प्रयोग गर्दै अध्यक्ष प्रचण्डले स्थायी समितिको बैठकमा पेस गरेको पार्टी पदाधिकारीको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको सो सचिवालयले जनाएको छ।
प्रस्ताव पारित भएसँगै पार्टीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा र महासचिवमा देव गुरुङले जिम्मेवारी पाएका छन्। उपमहासचिवमा गिरिराजमणि पोख्रेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुषाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मातृकाप्रसाद यादव चुनिएका छन्।
सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोख्रेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र सुरेन्द्र कार्की र कोषाध्यक्षमा श्रीराम ढकाल चयन भएका छन्।
बैठकले १२५ जनाको पोलिटब्युरो बनाउने निर्णयसमेत गरेको छ। यो निर्णयसँगै स्थायी समिति बैठक सकिएको छ।











