कांग्रेसले भदौ १० देखि २४ सम्म ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने
अभियानलाई सफल पर्न ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि खटाइने उनले बताए।
काठमाडौं, भदौ ४ : सत्तारुढ दल नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियानको घोषणा गरेको छ।
मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर भदौ १० देखि २४ सम्म सो अभियान सञ्चालन गर्न लागिएको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आज (शनिबार) पत्रकार सम्मेलन गरी जानकारी दिए।
अभियानलाई सफल पर्न ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि खटाइने उनले बताए। त्यसका लागि केन्द्रीय प्रतिनिधिका लागि भोलि (आइतबार) अभिमुखीकरण कार्यक्रम राखएिको जानकारी उनले दिए।
केन्द्रीय प्रतिनिधिले तोकिएको जिल्लामा गएर जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधिलगायतको बैठक बोलाउने प्रवक्ता डा. महतले जानकारी दिए।
उनका अनुसार अभियानमा जनताका समस्या सुन्ने, कांग्रेस नेतृत्वको सरकारले गरेको कामको जानकारी गराउने र सत्तारुढ गठबन्धनका दलहरुबीच तालमेलको औचित्य पुष्टि गरिनेछ। अभियानका लागि प्रदेश र जिल्ला समितिले समेत मातहतका प्रतिनिधि खटाउन सक्ने जनाइएको छ।
चुनावी अभियान तीन चरणमा सञ्चालन गरिनेछ। पहिलो चरणको अभियान भदाै १० देखि बिपी जन्मजयन्ती भदाै २४ सम्म,
दोस्रो चरणको अभियान समानुपातिक उम्मेदवारको बन्द सूची बुझाएपछि र तेस्रो चरणको अभियान प्रत्यक्षतर्फको उम्मेदवारी दर्तापछि चुनावी अभियान सञ्चालन हुने डा. महतले बताए।
गठबन्धनमा सिट बाँटफाँट टुंगो लगाउने कोसिस भइरहेको भन्दै जटिल भए पनि टुंगो लगाउनै नसक्ने अवस्था नरहेको उहाले बताए। प्रवक्ता महतले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पुनः पारित गरेर पठाएपछि नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुपर्ने बताए।
उनले यसअघिको नागरिकता सम्बन्धी अध्यादेशलाई राष्ट्रपतिले हुबहु तत्काल अनुमोदन अनुमोदन र अहिले फिर्ता गर्दा पनि ठोस कारण दिन नसकेको तर्क गरे।
कांग्रेसले पार्टीको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सु–सूचित गर्ने जनाएको छ भने निर्वाचनमा तालमेल गरेर जानुपरेको विषय र वस्तुस्थिति पार्टी पंक्ति र जनतासमक्ष राख्ने जनाएको छ।











