Kathmandu Press

अहिले राजनीतिमा ‘म’वादी संस्कृति माैलायाे र ‘हामी’वादी संस्कृति हरायाे : नेपाल

काठमाडौं, भदौ ४ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीको अत्याचारविरुद्ध बाध्य भएर नयाँ पार्टी खोलेको बताएका छन्।एकीकृत समाजवादीनिकट उपत्यका...
अहिले राजनीतिमा ‘म’वादी संस्कृति माैलायाे र ‘हामी’वादी संस्कृति हरायाे : नेपाल

काठमाडौं, भदौ ४ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीको अत्याचारविरुद्ध बाध्य भएर नयाँ पार्टी खोलेको बताएका छन्।

एकीकृत समाजवादीनिकट उपत्यका युवा विशेष जिल्ला कमिटीले आज (शनिबार) काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले ओलीले संविधान कुल्चिएको, संसद् विघटन गरेको अवस्थामा आत्मसमर्पण गर्न नसकेपछि विद्रोह गरेर नयाँ पार्टी बनाएको बताए।

‘हामीले एमालेमै रहेर हरिबिजोग भोग्न चाहेनौं। त्यसकारण नेपालको राजनीतिमा हाम्रो उपस्थिति देखाएरै छाड्यौं,’ उनले भने। अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीको एकीकरण तथा निर्माणमा ओलीको कुनै योगदान नरहेको दाबी गर्दै आफूहरुले पार्टी बनाएको १२ वर्षपछि ओली जोडिएको दाबी गरे।

उनले एकीकृत समाजवादीको ७७ वटै जिल्लामा संगठन विस्तार भएको जानकारी दिँदै संगठनलाई फैलाउन लागिपरेको बताए। कार्यक्रममा उनले पार्टीको उद्देश्य पुरानो समाजलाई परिवर्तन गर्ने र कुनै पनि अन्याय, अत्याचारको अन्त्य गर्ने रहेको बताए।

केही नेताका कारण अहिले पार्टी व्यवस्थाप्रति जनताको विश्वास घट्दै गएको पनि उनको भनाइ थियो। नेताहरूको भ्रष्टाचारी व्यवहार र राज्य सत्ताको दुरुपयोगका कारण जनतामा दलीय व्यवस्थाप्रति विश्वास घटेको उनले बताए। उनले अहिले राजनीतिमा ‘म’वादी संस्कृति बढेको र ‘हामी’वादी संस्कृति हराउँदै गएको जिकिर पनि गरे।

अध्यक्ष नेपालले पार्टी सदस्यता लिँदा आफूले गरेकाे प्रतिबद्धतालाई नभुल्न नेताकार्यकर्रतालाई आग्रह गरे। उनले नेपालका कम्युनिस्ट पार्टीहरू जहिले पनि देशमा आएका संकट टार्न अग्रसर भएको बताए।


 

प्रकाशित मिति: १५:२७ बजे, शनिबार, भदौ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्